सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ

जलसरोकार
शुक्रबार, असोज १६, २०८३ | १४:१६:०० बजे

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रयोगमा नरहेका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा वा चार्जर प्लगमै छोड्दा कुल विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा खर्च हुनसक्ने अध्ययनहरूले देखाएको बताए । 

मन्त्री श्रेष्ठले प्रयोगमा नरहेका उपकरणबाट निरन्तर हुने यस्तो विद्युत् खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भन्ने गरिएको उल्लेख गर्दै विद्युत्को मितव्ययी र सदुपयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन्।

उनका अनुसार नेपालमा विद्युत् उपभोक्ताको संख्या करिब ६० देखि ६५ लाख पुगेको छ । प्रत्येक घरमा हुने थोरै–थोरै अनावश्यक विद्युत् खपत जोडिँदा त्यसले समग्र विद्युत् प्रणालीमा ठूलो प्रभाव पार्न सक्ने उनकाे भनाइ छ ।

“हरेक घरमा मल्टिप्लग छन् । मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले मात्रै पनि ५ देखि २० प्रतिशतसम्म विद्युत् खपत हुने अध्ययनहरू छन्”, मन्त्री श्रेष्ठले भने, “यसलाई ‘एनर्जी भ्याम्पायर’ अथवा ‘फ्यान्टम इनर्जी’ भनिन्छ ।”

अनावश्यक विद्युत् खपत घटाउँदा ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न र विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने उनले बताए । विद्युत् प्रणालीमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताले नै भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युत्को सदुपयोगमा जोड दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

“खेर गइरहेको विद्युत् किन खेर जान दिने ? त्यसले ट्रान्सफर्मरमा अनावश्यक लोड बढाउँछ”, उनले भने, “भोलि ट्रान्सफर्मर पड्कियो वा त्यहाँ विद्युत् आपूर्तिमा समस्या आयो भने त्यसको असर उपभोक्तालाई नै पर्छ । त्यसैले मैले विनम्रतापूर्वक विद्युत्को मितव्ययी र सदुपयोग गर्न आग्रह गरेको हुँ ।”

मन्त्री श्रेष्ठले आफूले नागरिकलाई विद्युतीय उपकरण प्रयोग नै नगर्न आग्रह नगरेको स्पष्ट पार्दै अनावश्यक रूपमा भइरहेको खपत घटाएर विद्युत् प्रणालीमा पर्ने भार कम गर्नु उद्देश्य रहेको बताए ।

पछिल्लो समय विद्युत्को माग बढिरहेको र बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा समेत क्षति पुगेको अवस्थामा विद्युत्को मितव्ययी प्रयोग अझ आवश्यक रहेको उहाँले बताउनुभयो । आगामी जाडोयाममा विद्युत्को माग थप बढ्ने भएकाले उपभोक्ताले अहिलेबाटै अनावश्यक खपत नियन्त्रणमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

सरकारी कार्यालयमा पनि अनावश्यक बत्ती निभाउन आग्रह

मन्त्री श्रेष्ठले विद्युत्को मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयमा समेत लागू गर्नुपर्ने बताएका छन् । राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका प्रशासनिक निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार विगतमा सरकारी कार्यालयका कोठामा कार्यालय समयपछि पनि हिटर, पंखा र एसीलगायतका उपकरण चलिरहने अवस्था देखिन्थ्यो । यसपटक भने अनावश्यक विद्युत् खपत रोक्न प्रशासनिक निकायसँग समन्वय गरेर काम अघि बढाइएको छ ।

“स्थानीय सरकारदेखि प्रदेश सरकार हुँदै संघीय सरकारका प्रशासनिक कार्यालयसम्म राति कार्यालय बन्द भइसकेपछि अनावश्यक बत्तीहरू निभाउने र विद्युत्को अनावश्यक खपत रोक्ने जिम्मेवारीबोध गराउन खोजिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने ।

उनले विद्युत्को आवश्यक प्रयोगमा कुनै समस्या नभएको तर प्रयोगबिनै खेर जाने विद्युत् रोक्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठका अनुसार पछिल्ला दुई ठूला बाढीले ऊर्जा क्षेत्रमा ठूलो प्रभाव पारेका छन् । एउटा बाढीको प्रभाव निकै ठूलो रहेको र अर्को बाढीबाट पुगेको क्षतिपछि पनि ऊर्जा क्षेत्र पुनःस्थापनाको क्रममा रहेको उनले बताए ।

विद्युत्को माग बढिरहेको र ऊर्जा पूर्वाधार पुनःस्थापनाको कामसमेत जारी रहेको अवस्थामा आगामी जाडोयाममा विद्युत्को मितव्ययी प्रयोगका लागि आम नागरिक तथा सरकारी निकाय थप संवेदनशील हुनुपर्ने उनकाे आग्रह छ ।

प्रकाशित मिति : शुक्रबार, असोज १६, २०८३ | १४:१६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया