सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पत्रकार विकास थापाको पुस्तक ‘नेपालको जलविद्युत्‌ : असफलताको राजनीति’ को लोकार्पण

पुस्तकमा उठाइएका विषय जीवित मुद्दाहरु : प्राज्ञ दीपक ज्ञवाली

जलसरोकार
शनिबार, असोज २४, २०८३ | २०:५०:०३ बजे

काठमाडौं : जलसरोकार डट कममा प्रधान सम्पादक विकास थापाले लेखेको दोस्रो पुस्तक ‘नेपालको जलविद्युत्‌ : असफलताको राजनीति’ को आज शनिबार लोकार्पण गरिएको छ । 
पूर्व जलस्रोत मन्त्री, प्राज्ञ एवं जलस्रोतविद् दीपक ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभाका सांसद इन्जिनियर श्रीराम न्यौपाने, विद्युत्‌ नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी, ऊर्जा उद्यमी मोहन विक्रम डाँगी, वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापा र पुस्तकका लेखक थापाले संयुक्त रुपमा उक्त पुस्तक लोकार्पण गरे ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा आयोजित पुस्तक विमोचन तथा सम्मान समारोह कार्यक्रममा प्रतिनिधि सभाका सदस्य, नेपाल सरकारका सचिव, सहसचिवहरु, पूर्व सचिवहरु, नेपाल विद्युत्‌ प्राधिकरणका उपकार्यकारी निर्देशक, निर्देशक तथा पूर्व कार्यकारी निर्देशकहरु, जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिवहरु, विद्युत्‌ विकास विभागका उपमहानिर्देशक एवं निर्देशकहरु, सिंचाई विभागका उपमहानिर्देशकहरु, पत्रकारहरु, ऊर्जा उद्यमीहरु, निर्माण व्यवसायी, परामर्शदातृ निकाय प्रतिनिधिहरुसहित विभिन्न क्षेत्रबाट सहभागी भएका थिए ।
पुस्तक विमोचन गर्दै प्रमुख अतिथि तथा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले पुस्तकमा समेटिएका विषयगत मुद्दाहरु सदाबहार रहेकाले अहिलेको राजनीतिक प्ुस्ता तथा नीति–निर्माताहरुले पढ्ने पर्ने दाबी गरे । ‘पुस्तकमा समेटिएका विषयहरु अझै पनि समाधान हुन नसकेका र आगामी कयौं वर्षहरुसम्म पनि जीवन्त मुद्दाका रुपमा रहने विषय हुन्,’ ज्ञवालीले भने ।


कार्यक्रममा सांसद न्यौपानले लेखक थापाको पुस्तकले नेपालको जलविद्युत्‌मा क्षेत्रमा देखिएका असफलताहरुलाई उल्लेख गरेको बताए । उनले नेपालको अर्थतन्त्रको एक आधार स्तम्भका रुपमा रहेको जलविद्युत्‌ क्षेत्रलाई वर्तमान सरकारले गति दिन विभिन्न ऐन–कानुनहरु लागू गर्न लागेको जानकारी दिए । ‘हामीले ३० हजार मेगावाट जलविद्युत्‌ आयोजना निर्माणको लक्ष्य निर्धारण गर्दैगर्दा सुरुदेखि त्यसको गुरुयोजना बनाउनुपर्नेछ,’ उनले भने, ‘वन अनुमति लगायतका जलविद्युत्‌ क्षेत्रले भोगेको समस्या समाधान गर्न सरकारले विभिन्न ‘सनसेट ल’ लागू गर्न लागेको छ ।’
कार्यक्रममा विद्युत्‌ नियमन आयोगका अध्यक्ष डा. धितालले लेखक थापाको पुस्तकले जलविद्यु्त् क्षेत्रका गम्भीर समस्याहरुमा गम्भीर सबाल उठाइएका र उक्त पुस्तकले यो क्षेत्रको विकासका लागि मार्गदर्शन बन्न सक्ने बताए ।
कार्यक्रममा इप्पानका अध्यक्ष डाँगीले निजी क्षेत्रले भोगेको समस्याहरुमा इप्पान र मिडिया हातेमालो गर्दै आइरहेको र पत्रकार थापाको पुस्तकले नेपालमा निजी क्षेत्रले भोगेका समस्याहरु उजागर गरेको बताए ।


विमोचित पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार एवं लेखक हरिबहादुर थापाले प्रस्तुत पुस्तकले मुलुककाे जलविद्युत् क्षेत्रमा रहेकाे असंगति उजागर गरेकाे र यी असंगतिहरुलाई आगामी दिनमा कसरी सुधार गर्न सकिन्छ भन्ने दिशाबोध गराएकाे बताए। थापाले पुस्तकले जलविद्युत् क्षेत्र नभई मुलुककाे अर्थतन्त्रलाई नै प्रभावमा पार्ने ऊर्जासम्बन्धी ज्ञान र जानकारी गराएकाे बताए ।

लेखक थापाले आफूले पत्रकारिताका दौरान हासिल गरेको ज्ञान र जानको कुरालाई भोलिका पुस्तासम्म उपयोगी हुने गरी नीति, संरचना र भूराजनीतिले नेपालको जलविद्युत्‌लाई कुन दिशातर्फ लगिरहेको छ, त्यसबारे पुस्तक केन्द्रित रहेको बताए । 
पत्रकार थापाले यसअघि २०६८ सालमा ‘नेपालमा जलविद्युत्‌’ पुस्तक लेखेका थिए। 

प्रकाशित मिति : शनिबार, असोज २४, २०८३ | २०:५०:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया