सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, दुई आयोजनाको उत्पादन बन्द

जलसरोकार
मंगलबार, भदौ ०२, २०८३ | ०९:५५:२९ बजे

 

काठमाडाैं : म्याग्दीमा लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनाको निर्माण तथा विद्युत् उत्पादन प्रभावित भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी हुन नसकेपछि धवलागिरि गाउँपालिकामा निर्माणाधीन पाँच जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीपहिरोका कारण जिल्लाका दुई जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ।

धवलागिरि गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बाढीपहिरोका कारण प्रभावित भएको हो।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ९ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको निर्माणस्थलमा पनि यातायात सम्पर्कविच्छेद भएको छ। नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिएपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द छ।

गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्‌गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत ठप्प भएको छ। पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

अपर म्याग्दी–एकका आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पुमा पहिरो खस्नुका साथै शिवरात्रि खोलामा बाढी आएपछि गत असारदेखि सिमेन्ट, रडलगायत निर्माण सामग्री तथा उपकरण बोकेका सवारीसाधन आयोजनास्थलसम्म पुग्न सकेका छैनन्।

“भएका उपकरण र मौजुदा निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौँ,” उनले भने,“बाढीपहिरोका कारण निर्माण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षाकृत गतिमा काम गर्न सकेका छैनौँ।”

शिवरात्रि खोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुलको काममा ढिलाइ हुँदा बर्खायाममा सवारीसाधन वारपार गर्न थप समस्या भएको छ। खोलामा बाढीको सतह बढ्ने तथा पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्य प्रभावित भएको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए । 

“वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ,” उनले भने,“डोजरको सहायताले सामान बोकेका गाडी तार्ने तथा पहिरो पन्छाउँदै सवारीसाधन पार गराउनुपर्ने बाध्यता छ।”

यसैगरी, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा छ। आयोजनाको भौतिक प्रगति करिब ६० प्रतिशत पुगे पनि बाढीपहिरोका कारण निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ।

दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीका अनुसार बेनी–दरबाङ तथा दरबाङ–धारापानी–ताकम–मुना सडकखण्डअन्तर्गत थापाचौर, गौथली र दाचौर भिरमा खसेको पहिरोका कारण आयोजनाका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ।

बाढीपहिरोका कारण सडक तथा पहुँचमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानीमा समस्या देखिएपछि आयोजनाहरूले मौजुदा सामग्री तथा वैकल्पिक उपायबाट निर्माण कार्यलाई निरन्तरता दिइरहेका छन्। तर, सडकमार्ग सहज नभएसम्म आयोजनाको निर्माण गति प्रभावित हुने देखिएको छ।

प्रकाशित मिति : मंगलबार, भदौ ०२, २०८३ | ०९:५५:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया