सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गाको क्षतिपूर्ति निर्धारण

जलसरोकार
शुक्रबार, असार १९, २०८३ | १६:१२:४४ बजे

 

काठमाडाै‌ं : तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको छ। करिब २२७ मिलियन अमेरिकी डलर लागतको उक्त आयोजनाका लागि प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले क्षतिपूर्ति दर तय गरेको हो।

तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार विद्युत्‌गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य पूर्वाधार निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको मुआब्जा निर्धारण गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले उक्त कार्यका लागि आर.के. हाइड्रो इन्जिनियरिङ एण्ड एशोसिएट्स प्रालिसँग ठेक्का सम्झौता गरेको छ। २०८० फागुन ७ गते ठेक्का सम्झौता भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको निर्माण केही समय प्रभावित भएको थियो।

आयोजना प्रमुख श्रेष्ठका अनुसार आयोजनाबाट वार्षिक करिब ५२०.७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको बाँध तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा तयार गरिएको हो।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही क्षेत्र प्रभावित हुनेछन्।

देवघाट गाउँपालिका–४ को गाईघाटमा अर्धभूमिगत विद्युत्गृह निर्माण गरी उत्पादन हुने विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

 

प्रकाशित मिति : शुक्रबार, असार १९, २०८३ | १६:१२:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया