दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
जलसरोकार
पोखरा : नेपाल विद्युत प्राधिकरणले दमौली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कास्की जिल्लामा प्रसारण लाइन टावर निर्माणका लागि आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक सूचना जारी गर्दै आयोजनाका लागि प्रभावित हुने जग्गाधनी, हकवाला तथा सरोकारवालालाई आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई दाबी–प्रमाण पेश गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको “जग्गा प्राप्ति सम्बन्धी सूचना” मा दमौली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण हुने प्रसारण लाइन टावरका लागि पहिलो चरणमा तोकिएका स्थानका जग्गा स्थायी रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ । सूचनामा प्रभावित हुने व्यक्तिहरूको नाम, वडा÷साविकको विवरण, जग्गाधनीको नाम, पति÷बाबुको नाम, बाजे÷ससुराको नाम, टावर पर्ने क्षेत्र (लाइनपथ) तथा प्रस्तावित मुआब्जा रकमसमेत तालिकामार्फत सार्वजनिक गरिएको छ।
प्रशासन कार्यालयका अनुसार आयोजना निर्माणका क्रममा टावर निर्माण हुने स्थानमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइने भएकाले प्रभावित जग्गाधनी वा उनीहरूका कानुनी हकवालाले तोकिएको समयसीमाभित्र निवेदन÷दाबी पेश गर्नुपर्नेछ। सूचनामा दाबी–प्रमाण पेश गर्दा नागरिकता, लालपुर्जा, नापी नक्शा, जग्गाधनी प्रमाणपूर्जा लगायतका कागजातहरू आवश्यक पर्ने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको म्यादभित्र कुनै दाबी÷उजुरी नआएमा प्रचलित कानुनअनुसार जग्गा प्राप्ति तथा मुआब्जा निर्धारणसम्बन्धी प्रक्रिया अघि बढाइने जनाएको छ। यसले आयोजनाको काम समयमै सम्पन्न गर्न सहयोग पुग्ने प्रशासनको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य