कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन र निर्देशनको उल्लङ्घन गरेको भन्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले दुबै बैंकलाई आवश्यक सचेतना पत्र पठाउँदै भविष्यमा यस्ता गल्ती पुनः नदोहर्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको पालना नगरेको पाइएपछि सचेत गरिएको हो । निर्देशन अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचीबाट फुकुवा नभएसम्म आफ्ना खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि प्रकारका बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । तर, कुमारी बैंकले उक्त प्रावधानको उल्लङ्घन गरेको पाइएको राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशन विपरीत केही कर्जाहरूको वर्गीकरणमा त्रुटि गरेको भन्दै कारबाही गरिएको हो । निरीक्षणका क्रममा बैंकले कर्जाको भाखा नाघेको अवधिका आधारमा कर्जा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिका आधारमा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भार गणनामा राष्ट्र बैंकको ‘क्यापिटल एडेक्वेसी फ्रेसवर्क–२०१५’ को पालना नगरेको पाइएको हो ।
यसका कारण राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सचेत गराएको छ ।
राष्ट्र बैंकले दुबै बैंकलाई नियामकीय मापदण्ड, एकीकृत निर्देशन र जोखिम व्यवस्थापन सम्बन्धी प्रावधानहरूको पूर्ण पालनामा जोड दिँदै आगामी निरीक्षणमा सुधार देखिनुपर्ने चेतावनी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य