बाढीले क्षतिग्रस्त विद्युत् पूर्वाधार तत्काल पुनर्निर्माण गर्न कुलमान घिसिङको आग्रह
‘त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइन पुनर्निर्माणलाई प्राथमिकता दिइयोस्’
जलसरोकार
काठमाडौं । पूर्वनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनर्निर्माणलाई तत्काल प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।
घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले विद्युत्, सडकलगायतका अत्यावश्यक पूर्वाधारमा गम्भीर असर पारेको उल्लेख गर्दै आगामी दिनको ऊर्जा सुरक्षा र विद्युत् आपूर्ति व्यवस्थापनलाई ध्यानमा राखेर पुनर्निर्माणको काम तीव्र बनाउनुपर्ने बताएका हुन्।
उनले त्रिशूली र कालीगण्डकी करिडोरका विद्युत् प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमै दबाब सिर्जना भएको उल्लेख गरेका छन्।
‘आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने अवस्था’ रहेकाले तत्काल पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ। घिसिङले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै विद्युत् उत्पादन र आपूर्तिको प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक तयारी गर्नुपर्ने बताएका छन्।
उनले प्रभावित नागरिकका लागि तत्काल सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। विस्थापित नागरिकलाई आश्रय र राहतको व्यवस्था गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।
घिसिङले क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको क्षेत्रीय पुनर्स्थापना आवश्यक रहेको बताएका छन्। उनका अनुसार क्षति पुगेका आयोजना र पूर्वाधारको पुनर्निर्माण मात्र पर्याप्त नभई भविष्यमा यस्ता प्राकृतिक विपद्का कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी संरचना निर्माण गर्न आवश्यक छ।
त्यस्तै, निजी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
घिसिङले यो विषय कुनै एउटा क्षेत्रको मात्र समस्या नभएको उल्लेख गर्दै नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको विकास यात्रासँग जोडिएको गम्भीर राष्ट्रिय चुनौती भएको बताएका छन्।
उनले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै बाढीबाट विस्थापित नागरिकलाई तत्काल सुरक्षित आवास तथा राहतको व्यवस्था गर्न र क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको क्षेत्रीय पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयको बजेट खर्च साढे दुई महिनामा ३.०८ प्रतिशत मात्रै
-
नौ कारोबार दिनपछि नेप्से २६०० विन्दुमुनि, कारोबार रकम बढ्यो
-
पुँजी बजारमा चलखेल रोक्न अर्थ समितिको कडा निर्देशन, नेप्से र सीडीएससीको नेतृत्व तत्काल नियुक्त गर्न आग्रह
-
नेप्से नफेरिएसम्म पुँजीबजार नफेरिने, रणनीतिक साझेदार भित्र्याउन निजी क्षेत्रको दबाब
-
पुँजी बजार सुधारका लागि कर नीति बदल्नेदेखि नेप्से निजीकरणसम्मका सुझाव
-
पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति