सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति कुलमानद्वारा दुःख व्यक्त

जलसरोकार
बिहीबार, भदौ ११, २०८३ | १६:५९:२६ बजे

काठमाडौं  : चीनसँगको सीमावर्ती क्षेत्रबाट भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै पूर्व ऊर्जामन्त्री एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री घिसिङले बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना, सडकलगायत महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।

बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग उनले आग्रह गरेका छन्।

घिसिङले बाढी प्रभावित क्षेत्रमा स्थलगत भ्रमण गरी जारी उद्धार कार्य, प्रभावित नागरिकको अवस्था, भएको अपूरणीय क्षति तथा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी लिनुपर्ने बताएका छन्। विपद्को समयमा प्रभावित नागरिकले राज्यको बलियो र भरोसायोग्य उपस्थितिको अपेक्षा गरिरहेको उनको भनाइ छ।

भोटेकोशी बाढीका कारण विद्युत् क्षेत्रको पूर्वाधारमा परेको क्षतिको प्रारम्भिक विवरणअनुसार रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको थियो भने नुवाकोट र धादिङका केही क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित भएको थियो। प्रसारण तथा वितरण संरचनामा क्षति पुग्नुका साथै त्रिशूलीस्थित २२० केभी सबस्टेसन र विभिन्न प्रसारणलाइनमा समेत क्षति पुगेको विवरण सार्वजनिक भएका छन्।

त्यस्तै, बाढीबाट करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। सडक तथा पुलतर्फ पनि ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार रसुवागढीदेखि धादिङको गल्छीसम्म विभिन्न स्थानमा २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज बाढीले बगाएको प्रारम्भिक विवरण छ।

घिसिङले यस्तो विपद्का बेला व्यक्तिगत तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनामा एकजुट हुन आग्रह गरेका छन्। साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण र आवश्यक पूर्वतयारीलाई थप प्रभावकारी बनाउन साझा धारणा र प्रतिबद्धता निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

भोटेकोशी बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ ११, २०८३ | १६:५९:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया