किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा अघि बढ्ने, करिब ९८ अर्ब लागत अनुमान
जलसरोकार
काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका–२ क्षेत्रमा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी स्रोतबाटै निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि करिब ९७ अर्ब ९४ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहित लगानी व्यवस्थापनको नयाँ ढाँचा तयार गरिएको हो।
आयोजना सरकार तथा सरकारी निकाय प्रवद्र्धक रहेको विद्युत उत्पादन कम्पनीमार्फत निर्माण गरिनेछ। प्रस्तावित वित्तीय ढाँचाअनुसार कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीबाट जुटाइनेछ। ऋणका लागि एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण गरिने प्रस्ताव छ।
इक्विटी भने कम्पनीका संस्थापक संस्थासँगै गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, विपन्न समुदाय तथा सर्वसाधारणलाई शेयर निष्कासनमार्फत उपलब्ध गराइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय प्रस्तावको समीक्षा गर्दै लागत अद्यावधिक गरी तत्काल लगानी व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। साथै प्रस्तावित लगानी संरचना र इक्विटी योजनालाई कम्पनी सञ्चालक समितिबाट छिटो पारित गराउन पनि उनले जोड दिएका छन्।
किमाथाङ्का अरुण आयोजनाको अध्ययन तथा पूर्वनिर्माणमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ। आयोजना कार्यालय र कर्मचारी आवासका लागि जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने बाँध, जलाशय र विद्युतगृह निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारणसमेत पूरा भइसकेको छ। यस प्रयोजनका लागि झण्डै ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिटभन्दा बढी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। हिउँद र वर्षायाम दुवै समयमा सन्तुलित उत्पादन हुने गरी डिजाइन गरिएको आयोजनाबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
प्रवद्र्धक कम्पनीको शेयर संरचनामा सरकारको ३० प्रतिशत स्वामित्व रहनेछ भने नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०–१० प्रतिशत हिस्सा रहनेछ। यसैगरी नागरिक लगानी कोष, एचआइडिसिएल र राष्ट्रिय जीवन बीमा कम्पनी पनि संस्थापक शेयरधनी रहनेछन्। सर्वसाधारणका लागि करिब २९ प्रतिशत शेयर खुला गरिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार