कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
जलसरोकार
काठमाडौं : कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र पर्याप्त बनाउने उद्देश्यसहित निर्माण गरिएको कोहलपुर-सुर्खेत १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत उक्त आयोजना सम्पन्न हुनु कर्णाली प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनासँगै कर्णाली प्रदेशमा पहिलोपटक १३२ केभी प्रसारण लाइन पुगेको घिसिङको भनाइ छ। उनले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा ठेक्का सम्झौता गरी अगाडि बढाइएको यो आयोजना वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, राष्ट्रिय निकुञ्ज क्षेत्र, स्थानीय अवरोध तथा कठिन भौगोलिक अवस्थाजस्ता चुनौती हुँदाहुँदै पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन् ।
घिसिङका अनुसार, २०६५ सालदेखि कोहलपुरबाट लगिएको ३३ केभी प्रसारण लाइनमार्फत सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलगायत जिल्लामा विद्युत् आपूर्ति हुँदै आएको थियो। तर सीमित क्षमताका कारण लो भोल्टेज, बारम्बार अवरोध र अस्थिर आपूर्ति कर्णाली क्षेत्रको प्रमुख समस्या रहँदै आएको थियो।
नयाँ १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि अब विद्युत् आपूर्ति सुरक्षित, स्थिर, भरपर्दो र गुणस्तरीय हुने मात्र होइन, कर्णाली क्षेत्रमा उत्पादन हुने जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने पूर्वाधार पनि तयार भएको घिसिङले बताएका छन् ।
हाल आयोजनाअन्तर्गत सुर्खेत-दैलेख खण्ड निर्माणाधीन अवस्थामा रहेको जानकारी दिँदै उनले कोहलपुर-सुर्खेत खण्ड सम्पन्न गर्न अहोरात्र खटिने आयोजना व्यवस्थापन टोली, समन्वय गर्ने जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय तह, राजनीतिक दल तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य