कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
जलसरोकार
टीकापुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) सुरु गर्न लागिएको बताएका छन् ।
कैलालीको जानकी गाउँपालिका–दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले कर्णाली चिसापानी आयोजना सुदूरपश्चिम प्रदेश मात्र नभई समग्र देशको आर्थिक समृद्धिसँग जोडिएको मेगा परियोजना भएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार पारिने जानकारी दिए ।
उनले सन् २००१ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्भाव्यता अध्ययन भए पनि आयोजना अघि बढ्न नसकेको स्मरण गर्दै देशको समृद्धिसँग जोडिएका कर्णाली चिसापानीजस्ता ठूला परियोजना अब अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । दक्षिण एसियाली क्षेत्रकै नमुना आयोजनाका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
मन्त्री घिसिङका अनुसार सरकारले कर्णाली चिसापानी आयोजना नेपाल विद्युत् प्राधिकरणमार्फत अध्ययन गराउने निर्णय गरिसकेको छ । प्राधिकरणले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । आयोजना निर्माणपछि कर्णाली नदीको प्रवाह नियन्त्रण भई हाल देखिँदै आएको नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने उनले बताए ।
कार्यक्रममा मन्त्री घिसिङले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत ४.७१ मेगावाट क्षमताको जलविद्युत् गृह सञ्चालनका लागि स्थानीय जनता, उपभोक्ता समितिलगायतको शेयर स्वामित्व रहने गरी कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिए । उक्त सम्बन्धमा अर्थ मन्त्रालयमा सहमतिका लागि प्रस्ताव पठाइसकिएको र सहमति प्राप्त भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरी कम्पनी स्थापना गरिने उनले स्पष्ट पारे ।
जलविद्युत् र पर्यटन विकासमार्फत सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री घिसिङले ठूला आयोजना सफल बनाउन स्थानीय तह, समुदाय र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा