कालीगण्डकी जलाशययुक्त आयोजना ६४० मेगावाटमा कायम
जलसरोकार
काठमाडौं : बहुप्रतिक्षित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना संशोधित क्षमतासहित ६४० मेगावाटमा निर्माण हुने भएको छ। सुरुमा ८४४ मेगावाट क्षमतामा प्रस्ताव गरिएको आयोजना हालको विस्तृत अध्ययनका क्रममा घटाएर ६४० मेगावाट कायम गर्नु उपयुक्त ठहर गरिएको हो।
हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको छ। प्रस्तावित बाँध सेती र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि पर्ने उर्लेनी–खङ्गकोट क्षेत्रमा निर्माण गरिनेछ, जुन गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर आसपास पर्दछ। आयोजनाअन्तर्गत २४४ मिटर अग्लो बाँध निर्माण गर्ने योजना रहेको छ।
बाँध निर्माणपछि करिब २९ किलोमिटर लामो जलाशय खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर रहनेछ भने ४०५ घनमिटर प्रतिसेकेण्ड पानी प्रवाहका आधारमा वार्षिक १ हजार ६४५.६५ मेगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
प्राविधिक संरचनाअनुसार आयोजनामा चारवटा स्टिल पेनस्टक जडान गरिनेछ भने चारवटा फ्रान्सिस टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ। विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर क्षेत्रमा निर्माण गर्ने प्रस्ताव गरिएको छ।
आयोजनाबाट पर्वत, बागलुङ, गुल्मी र स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तह प्रत्यक्ष प्रभावित हुनेछन्। पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका तथा बिहादी गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिका, गुल्मीको कालीगण्डकी गाउँपालिका तथा स्याङ्जाको गल्याङ नगरपालिका यस आयोजनाबाट प्रभावित क्षेत्रका रूपमा रहेका छन्।
आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग को समन्वयमा एसएमईसी इन्टरनेसनल र जेड कन्सल्टको संयुक्त परामर्शदाता समूहले गरिरहेको छ।
सडक पहुँचका हिसाबले आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी करिडोर तथा कालीगण्डकी लोकमार्ग हुँदै सहजै पुग्न सकिनेछ।
ऊर्जा उत्पादनसँगै क्षेत्रीय पूर्वाधार विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्