तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
जलसरोकार
जुम्ला: जुम्लाको तिला नदीमा निर्माण प्रस्ताव गरिएको तिला जलविद्युत् आयोजनाबाट ३८.०७ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । उक्त आयोजना निर्माण गर्न करिब सात अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
जिल्लाका तिला गाउँपालिका–१ र ७ तथा कालिकोटको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ लाई प्रभावित क्षेत्रका रूपमा निर्धारण गरिएको छ । आयोजना निर्माणका लागि गरिएको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । तिला जलविद्युत् आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टका अनुसार चार वर्षअघि नै सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ५२.५१ घनमिटर प्रतिसेकेन्ड रहने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागबाट २०७८ सालमै आयोजना नापजाँच स्वीकृत भइसकेको छ। आयोजना सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना, रोयल्टी प्राप्ति, सेयर वितरण, सामुदायिक विकास र व्यापार–व्यवसाय वृद्धि जस्ता सकारात्मक प्रभाव पर्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
उत्पादन भएको विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेसनमा जोडिनेछ। विद्युत् गृहबाट निष्कासित पानी २५ मिटर लामो टेलरेस सुरुङमार्फत पुनः तिला नदीमा फालिनेछ। आयोजनाका सम्पूर्ण मुख्य संरचना तिला नदीको बाँया किनारमा निर्माण गरिने जनाइएको छ।
विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहका अनुसार आयोजनाको कुल लागत करिब ७ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको छ। विजुली प्रशारणका लागि ३०.२० किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट लाइन निर्माण गर्नुपर्नेछ। आयोजनाका लागि कुल ७.५८५ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्नेछ।
आयोजना निर्माण अवधिमा स्थानीयलाई रोजगारीमा विशेष प्राथमिकता दिइने र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यापार–व्यवसायमा सहभागी हुन पाउने तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए । यस आयोजनाबाट प्रत्यक्ष रूपमा ३४ घरधुरी प्रभावित हुने देखिएको छ। प्रभावितहरूको नामावली सम्बन्धित वडा कार्यालयमा टाँस भइसकेको आयोजनाले जनाएको छ।
हाल आयोजनाको अध्ययन प्रक्रिया अन्तिम चरणमा रहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य अगाडि बढाइने तिला जलविद्युत् आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
निजी क्षेत्रको भरोसायोग्य ऊर्जा सहयात्री बन्न चाहन्छौँ : विद्युत् विकास विभाग
-
गत आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर