पाँच दशकमा पनि सिंचाइ पहुँच ६३ प्रतिशत मात्रै, चालु वर्ष १५ हजार ४५० हेक्टरमा थपियो सुविधा
जलसरोकार
काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म देशभर थप १५ हजार ४५० हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार गरेको जनाएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यससँगै नेपालमा सिंचाइ सुविधा पुगेको कुल क्षेत्रफल १५ लाख ७७ हजार १ सय ७० हेक्टर पुगेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्यांक उद्धृत गर्दै सर्वेक्षणले २०८१ असारसम्म १५ लाख ६१ हजार ७ सय २० हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको उल्लेख गरेको छ । चालु वर्षको फागुनसम्म सतह सिंचाइतर्फ १५ हजार ४५० हेक्टर क्षेत्र थपिए पनि भूमिगत सिंचाइतर्फ कुनै नयाँ विस्तार हुन सकेको छैन । जलाशय तथा लिफ्ट सिंचाइमार्फत भने १ सय ७० हेक्टरमा सुविधा थपिएको देखिएको छ ।
सर्वेक्षणअनुसार हाल नेपालमा कुल कृषियोग्य जमिन २५ लाख ७५ हजार ७ सय ६४ हेक्टर रहेको छ । त्यसमध्ये फागुनसम्म ६३ दशमलव ६१ प्रतिशत जमिनमा सिंचाइ सुविधा पुगेको छ । सिंचाइयोग्य जमिनलाई आधार मान्दा भने ७१ दशमलव १ प्रतिशत क्षेत्रमा सिंचाइ पहुँच पुगेको सरकारको दाबी छ ।
आर्थिक सर्वेक्षणले विगत पाँच दशकको प्रगति पनि सार्वजनिक गरेको छ । २०३२ सालसम्म कुल कृषियोग्य जमिनको केवल १४ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको थियो । त्यसपछि क्रमशः विस्तार हुँदै २०४१ मा २० प्रतिशत, २०५१ मा ३३ दशमलव ३ प्रतिशत, २०६१ मा ४४ दशमलव ५ प्रतिशत, २०७१ मा ५३ दशमलव ३ प्रतिशत र २०८१ असारसम्म ६१ दशमलव ९ प्रतिशत क्षेत्रमा सिंचाइ सुविधा पुगेको देखाइएको छ । चालु वर्षको फागुनसम्म आइपुग्दा यो अनुपात ६३ दशमलव ६ प्रतिशत पुगेको छ ।
सिंचाइ विस्तारको तथ्यांक हेर्दा नेपाल अझै पनि मनसुनमा आधारित कृषि प्रणालीबाट पूर्ण रूपमा बाहिर निस्किन नसकेको संकेत देखिन्छ । कृषियोग्य जमिनको झण्डै ३६ प्रतिशत क्षेत्रमा अझै पनि सिंचाइ सुविधा नपुग्नु कृषि उत्पादन, उत्पादकत्व र खाद्य सुरक्षाका दृष्टिले चुनौतीपूर्ण अवस्था भएको विज्ञहरूको भनाइ छ ।
विशेषगरी तराईका ठूला सिंचाइ आयोजना, पहाडी लिफ्ट सिंचाइ तथा जलाशयमा आधारित प्रणालीलाई तीव्रता दिन नसक्दा सिंचाइ विस्तारको गति अपेक्षाअनुसार बढ्न नसकेको देखिन्छ । भूमिगत सिंचाइतर्फ चालु वर्ष कुनै प्रगति नदेखिनु पनि चिन्ताको विषयका रूपमा हेरिएको छ ।
सरकारले भने बहुउद्देश्यीय जलाशय, नदी नियन्त्रण तथा आधुनिक सिंचाइ प्रणालीमार्फत कृषिक्षेत्रको उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ । तर आर्थिक सर्वेक्षणले प्रस्तुत गरेको तथ्यांकले अझै ठूलो भूभाग वर्षामा निर्भर रहेको यथार्थ उजागर गरेको छ ।
| आयोजना/सिंचाइको प्रकार | २०८१ असारसम्म (हेक्टर) | चालु आव २०८१/८२ फागुनसम्म थप (हेक्टर) | २०८२ फागुनसम्म कुल (हेक्टर) |
|---|---|---|---|
| सतह सिंचाइ | १०,३२,३६५ | १५,४५० | १०,४७,८१५ |
| भूमिगत सिंचाइ | ५,४५,४२४ | ० | ५,४५,४२४ |
| जलाशय तथा लिफ्ट सिंचाइ | ३,९३१ | १७० | ४,१०१ |
| कुल जम्मा | १५,६१,७२० | १५,६२० | १५,७७,३४० |
सिंचाइ पहुँचको अवस्था
| विवरण | प्रतिशत |
|---|---|
| कुल कृषियोग्य जमिनमध्ये सिंचाइ सुविधा पुगेको | ६३.६१% |
| सिंचाइयोग्य जमिनमध्ये सिंचाइ सुविधा पुगेको | ७१.१% |
| अझै सिंचाइ सुविधा नपुगेको कृषियोग्य जमिन | ३६.३९% |
विगत दशकहरूमा सिंचाइ पहुँच विस्तार
| वर्ष | कृषियोग्य जमिनमध्ये सिंचाइ पहुँच |
|---|---|
| २०३२ | १४% |
| २०४१ | २०% |
| २०५१ | ३३.३% |
| २०६१ | ४४.५% |
| २०७१ | ५३.३% |
| २०८१ असार | ६१.९% |
| २०८२ फागुन | ६३.६% |
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘मदिरा-दलाली गठबन्धन’ तोड्न सांसद श्रीराम न्यौपानेको प्रधानमन्त्रीलाई खुल्लापत्र
-
सुपर तमोर जलविद्युत् आयोजनाका लागि २५ अर्बभन्दा बढीको वित्तीय व्यवस्थापन सुनिश्चित
-
निकुञ्जले रोकेका पाँच जलविद्युत् आयोजना खुलाउन वनमन्त्रीसमक्ष इप्पानको आग्रह
-
सुरक्षित खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा, तर प्रशोधित पानी प्रणाली अझै कमजोर
-
दाउराको हिस्सा घट्दै, विद्युत्को हिस्सा बढ्दै
-
राष्ट्रिय गौरवका सिंचाइ आयोजना पनि सुस्त, अधिकांशमा लक्ष्यभन्दा कम प्रगति