जेनजी आन्दोलनमा दमनप्रति इप्पानको घोर आपत्ति


काठमाडौं : देशभर २८ वर्ष मुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले तीव्र आपत्ति जनाएको छ। सोमबार भएको प्रदर्शनका क्रममा १९ जना किशोर-किशोरीको ज्यान जानुका साथै सयौं घाइते र अंगभंग भएको घटनालाई इप्पानले ‘निर्मम र बर्बर दमन’ भन्दै निन्दा र भत्सर्ना गरेको हो।
इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा ऊर्जा क्षेत्रमा संलग्न उद्यमीहरूले वर्षेनी साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १० अर्बभन्दा बढी कर तिर्दै आएको स्मरण गराइएको छ। हाल ३ हजार मेगावाट विद्युत् उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणमा सक्रिय इप्पानले लाखौँ नेपालीलाई रोजगारी दिइरहेको भए पनि राज्यका निकायहरूले भ्रष्टाचार, कुशासन र स्वार्थका कारण विकास-निर्माण अवरुद्ध पार्दै आएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “राज्य सञ्चालक र संवैधानिक निकायले स्वतन्त्र नियमन गर्नुको साटो सीमित व्यक्तिहरूको स्वार्थमा काम गर्दा नागरिक निराश बनेका छन्। यसरी निराश युवापुस्ताले सडकलाई आन्दोलनको माध्यम बनाउनुपर्ने अवस्था सिर्जना भएको हो।”
इप्पानले २०६२/६३ सालको जनआन्दोलनमा १९ दिनमा १९ जनाको ज्यान गएपछि तत्कालीन राजाले सत्ता फिर्ता गरेको स्मरण गर्दै अहिले लोकतान्त्रिक सरकारले एकै दिन १९ जना किशोर-किशोरीको ज्यान जाने गरी दमन गर्नु अझ खेदजनक रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि शान्तिपूर्ण प्रदर्शन गर्न गएका किशोर-किशोरीलाई राज्यले गोली प्रहार गर्नु संविधानकै उल्लङ्घन हो। नियन्त्रणका अन्य उपाय हुँदा हुँदै सीधा गोली चलाउनु निन्दनीय छ।”
इप्पानले प्रदर्शनकारीका मागलाई वैध ठहर गर्दै सरकारले तत्काल सुनुवाइ गर्नुपर्नेमा जोड दिएको छ। गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै इप्पानले घटनाको सत्यतथ्य छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न र भविष्यमा यस्ता दमनात्मक घटना नदोहोरिने ग्यारेन्टी गर्न आग्रह गरेको छ।
त्यस्तै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, उपचारका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउन सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई आह्वान गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात