निकुञ्जले रोकेका पाँच जलविद्युत् आयोजना खुलाउन वनमन्त्रीसमक्ष इप्पानको आग्रह
जलसरोकार
काठमाडौं : लाङटाङ राष्ट्रिय निकुञ्जले १५३ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाको निर्माण रोक्न निर्देशन दिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले वनमन्त्री गीता चौधरीसमक्ष हस्तक्षेपको माग गरेको छ ।
इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री चौधरीलाई भेटेर राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनाको काम यथाशीघ्र अघि बढ्ने वातावरण बनाउन आग्रह गरेको हो ।
मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा इप्पानले निकुञ्ज क्षेत्रभित्र ठूलो परिमाणमा जलविद्युत् आयोजनाको सम्भावना रहेको उल्लेख गर्दै वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृत भइसकेका आयोजनामा पुनः अवरोध सिर्जना गर्नु निजी क्षेत्रलाई निरुत्साहित गर्ने कदम भएको जनाएको छ ।
अध्यक्ष कार्कीले ऊर्जा मन्त्रालयले राजस्व लिएर आयोजना विकास अनुमति दिने, वन मन्त्रालयअन्तर्गतकै निकायले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्ने तर अर्को निकायले निर्माण रोक्नु नीतिगत विरोधाभास भएको बताए ।
“एकातर्फ आयोजना विकासका लागि अनुमति दिने, अर्कोतर्फ निर्माण रोक्ने प्रवृत्तिले निजी क्षेत्र अन्योलमा परेको छ,” उनले भने, “रुख कटान र जग्गा भोगाधिकार अनुमति वर्षौंसम्म नदिने तथा अन्य निकायबाट अनुमति लिएर काम गर्दा पनि रोक लगाउने अवस्था अन्त्य हुनुपर्छ ।”
उनले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको अवस्थामा यस्ता अवरोधले लक्ष्य हासिल गर्न कठिन हुने बताए । साथै, सरकारले ‘सनसेट ल’ ल्याउने तयारी गरिरहेको सन्दर्भमा मन्त्रालयले आयोजना सहजीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
जवाफमा मन्त्री गीता चौधरी ले जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताइन् । उनले विकास आयोजना सम्बन्धी जटिलता समाधान गर्न नीतिगत सुधारको तयारी भइरहेको जानकारी पनि दिइन् ।
पछिल्लो समय सिन्धुपाल्चोक मा निर्माणाधीन ३६.५ मेगावाटको ब्रह्मायणी, २०.५२ मेगावाटको माथिल्लो ब्रह्मायणी, ९.७ मेगावाटको ब्रह्मायणी-ए, ४० मेगावाटको बलेफी खोला तथा ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजना गरी कुल १५३ मेगावाट क्षमताका पाँच आयोजना रोक्न लाङटाङ राष्ट्रिय निकुञ्ज ले निर्देशन दिएको छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी ले नेपाल सरकारका विभिन्न निकायबाट अनुमति प्राप्त गरी तथा वन मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार अघि बढिरहेका आयोजनाको निर्माण रोक्नुको सट्टा सहजीकरण गर्नुपर्ने बताए ।
इप्पानका अनुसार नेपालका अधिकांश जलविद्युत् आयोजना निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यस्तो निर्णयले करिब ५० हजार मेगावाट क्षमताका सम्भावित आयोजनामा असर पार्न सक्छ । संस्थाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने निकुञ्जको निर्देशन तत्काल फिर्ता लिन र निर्वाध रूपमा आयोजना निर्माणको वातावरण बनाउन माग गरेको छ ।
इप्पानले बुधबार नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल लाई भेटेर पनि निर्माण रोक्ने निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने