सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पदमा उम्मेदवारी दिन पाउने व्यवस्था

जलसरोकार
आइतबार, जेठ ३१, २०८३ | ११:२१:२३ बजे

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले विधान संशोधन गर्दै सबै पदमा उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ । इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले संशोधित विधान पारित गर्दै मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको हो।

इप्पानको शनिबार सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्ष पदबाहेक अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन्।

वार्षिक साधारणसभाबाट पारित संशोधित विधानअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी उपाध्यक्षको संख्या सात पुर्‍याइएको छ।

त्यस्तै महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन्। संशोधित विधानअनुसार कृष्ण घिमिरे र दीपक पौडेललाई थप गरी सचिवको संख्या पनि सात पुर्‍याइएको छ।

यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्।

संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यका रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाभित्र सबै पक्षलाई समेटेर सहमतिका आधारमा अघि बढ्न नयाँ विधान संशोधन गरिएको बताए। उनका अनुसार सहमतिका आधारमा दुई उपाध्यक्ष, दुई सचिव तथा पाँच स्थायी आमन्त्रित सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ।

इप्पानले वार्षिक साधारणसभाबाट इप्पान विधान–२०७८ संशोधन गर्दै सबै पदमा निर्वाचन हुने व्यवस्था गरेको छ। तर अध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै विधान संशोधनमार्फत उपाध्यक्षको संख्या पाँचबाट सात तथा सचिवको संख्या पनि पाँचबाट सात पुर्‍याइएको छ। साथै पाँच जना स्थायी आमन्त्रित सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ। संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउने जनाइएको छ।

अध्यक्ष कार्कीले इप्पानलाई अझ समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने संस्थाका रूपमा विकास गर्ने उद्देश्यले विधान संशोधन गरिएको बताए। संशोधित विधानमा इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध नभएको हुनुपर्ने तथा विगतमा आबद्ध रहेको भए त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित मिति : आइतबार, जेठ ३१, २०८३ | ११:२१:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया