सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महासंघ विवादबीच इप्पानको निर्वाचन प्रक्रिया अघि बढ्यो

जलसरोकार
बिहीबार, जेठ २८, २०८३ | २१:५६:४८ बजे

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले महासंघसम्बन्धी विवाद र संगठनभित्रको आरोप–प्रत्यारोपबीच पनि २४ औँ वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । इप्पानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया विधानअनुसार नै अघि बढाइएको दाबी गरेको हो।

इप्पानका अनुसार २०५७ साल माघ ४ गते स्थापना भएको संस्थामा हाल ६८३ सदस्य आबद्ध छन् । संस्थाले आगामी जेठ २९ गते २४ औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशन आयोजना गर्दैछ ।

प्रेस विज्ञप्तिमा इप्पान महासंघमा जान नसकेको विषयलाई लिएर केही पक्षले ‘अवैधानिक निर्वाचन’ भएको भन्दै गलत प्रचार गरेको आरोप लगाइएको छ । संस्थाले महासंघसम्बन्धी निर्णय, विधान संशोधन प्रस्ताव तथा निर्वाचन कार्यतालिका कार्यसमितिबाट सर्वसम्मत रूपमा पारित गरिएको दाबी गरेको छ ।

इप्पानका अनुसार २०३ औँ कार्यसमिति बैठकले महासंघमा जान नसकेको कारण र विधान संशोधनसम्बन्धी प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको थियो । त्यसपछि २०० औँ र २०१ औँ बैठकमार्फत निर्वाचन प्रक्रिया अघि बढाउने तथा नयाँ विधान प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरिएको उल्लेख छ।

संस्थाले नयाँ विधानमार्फत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाएर अध्यक्षमा प्रत्यक्ष प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको जनाएको छ । साथै २७ सदस्यीय कार्यसमितिको अवधारणासमेत अघि सारिएको उल्लेख छ ।

यसैबीच निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिव पदमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विनोदमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, खुला सदस्य तथा महिला सदस्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारको अन्तिम नामावलीमा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन र बलराम खतिवडाबीच प्रतिस्पर्धा देखिएको छ भने महासचिवमा टेकनाथ आचार्य र प्रकाशचन्द्र दुलाल आमनेसामने भएका छन् ।

उपाध्यक्ष पदका लागि सात जना प्रतिस्पर्धामा छन् । तीमध्ये उत्तर कुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, भरत प्रसाद नेपाल, भरत बहादुर खत्री, सुसन कर्माचार्य र हिम प्रसाद पाठक रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बयालबीच प्रतिस्पर्धा हुने भएको छ । खुला सदस्यतर्फ १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा जवाली, संगीता धमला र सिर्जना खड्काबीच प्रतिस्पर्धा हुनेछ ।

इप्पानले केही समूहबाट संगठनको प्रतिष्ठामाथि आघात पुग्ने गरी गलत सूचना प्रवाह गरिएको आरोप लगाउँदै सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ । संस्थाले साधारणसभामार्फत महासंघ, विधान संशोधन तथा निर्वाचनसम्बन्धी सबै विषयमा छलफल हुने जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, जेठ २८, २०८३ | २१:५६:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया