सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की

जलसरोकार
सोमबार, मंसिर २९, २०८२ | १८:१०:५९ बजे

काठमाडौं : नेपाल र दक्षिण कोरियाबीच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने उद्देश्यसहित सोमबार नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५ सम्पन्न भएको छ। सेमिनारमा स्वतन्त्र विद्युत् उत्पादक संघ नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रमार्फत नेपाल–कोरिया ऊर्जा साझेदारीलाई व्यवहारिक लगानीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले जलविद्युत् सम्भावना, क्षेत्रीय विद्युत् बजारको विस्तार र दक्षिण एशियाको भरपर्दो स्वच्छ ऊर्जा आपूर्तिकर्ता बन्ने नेपालको रणनीतिक दृष्टिले कोरियाली प्रत्यक्ष वैदेशिक लगानी (FDI) अत्यन्त महत्वपूर्ण रहेको  बताए। 

इप्पानको २५ वर्षे यात्राको चर्चा गर्दै उनले सन् २००१ मा स्थापना भएको संघमा हाल ५७२ सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिए। निजी क्षेत्रले नेपालमा उत्पादन हुँदै आएको करिब ३,८०० मेगावाट विद्युत्मध्ये ८० प्रतिशतभन्दा बढी (३,२०० मेगावाट) योगदान गरिरहेको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्र निर्णायक शक्ति बनेको स्पष्ट पारे । 

अध्यक्ष कार्कीका अनुसार नेपालमा हाल ५७२ जलविद्युत् तथा सौर्य आयोजना छन्, जसको कुल क्षमता ८,५१६ मेगावाट रहेको छ भने २०,००० मेगावाटभन्दा बढी क्षमताका आयोजना विभिन्न चरणमा अगाडि बढिरहेका छन्। सरकारले आगामी १० वर्षमा भारत र बंगलादेशतर्फ १५,००० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्र सरकारको प्रमुख साझेदार हुने उनको भनाइ थियो। 

नेपाल–कोरिया ऊर्जा सहकार्यको उदाहरण दिँदै अध्यक्ष कार्कीले २१६ मेगावाटको अपर त्रिशूली-१ जलविद्युत् आयोजनालाई कोरियाली लगानीको प्रमुख उपलब्धिका रूपमा उल्लेख गरे। उनका अनुसार उक्त आयोजना विश्वास, प्रविधि र दिगो विकासप्रतिको साझा प्रतिबद्धताको प्रतीक हो। 

आगामी दिनमा नेपाल र कोरियाबीच B2B तथा PPP मोडेल मार्फत सहकार्य विस्तार गर्न सकिने उल्लेख गर्दै उनले जलविद्युत् उपकरण, स्मार्ट ग्रिड, प्रसारण प्रणाली, ऊर्जा भण्डारण, हाइड्रो–सोलार हाइब्रिड प्रणाली र जलवायु अनुकूल पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको  बताए। 

इप्पान अध्यक्ष कार्कीले नेपालमा करिब १,२०,००० मेगावाट जलविद्युत् सम्भावना रहे पनि हाल उत्पादन ४,००० मेगावाटभन्दा कम रहेको उल्लेख गर्दै सन् २०३५ सम्म २८,५०० मेगावाट उत्पादन लक्ष्य हासिल गर्न करिब ४६.५ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने  बताए। 

कार्यक्रमको अन्त्यमा उनले इप्पानले कोरियाली दूतावास, कोरियाली संस्था तथा निजी कम्पनीसँग मिलेर लगानी प्रवर्द्धन, B2B भेटघाट, परियोजना जानकारी आदानप्रदान र नीति संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। नेपाल–कोरिया ऊर्जा सहकार्यले क्षेत्रीय ऊर्जा बजारमा नेपालको भूमिका बलियो बनाउने उनको धारणा थियो। 

 

प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ | १८:१०:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया