बूढीगण्डकी जलविद्युत आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी जुट्यो
जलसरोकार
काठमाडौं: बूढीगण्डकी जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। कूल ३४१ मेगावाट क्षमताको आयोजना निर्माण गर्न टाइम्स इनर्जीले बैंक तथा वित्तीय संस्थासँग रु ५२ अर्ब ५० करोडको ऋण लगानीको सम्झौता गरेको हो ।
साहस ऊर्जा मुख्य प्रवद्र्धक रहेको टाइम्स इनर्जीले आयोजनाको कूल अनुमानित लागत रु ७० अर्बमध्ये २५ प्रतिशत अर्थात् रु १७ अर्ब ५० करोड स्वपुँजीका रूपमा लगानी गर्नेछ भने बाँकी ऋण १० वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउनेछन् ।
सम्झौतापत्रमा टाइम्स इनर्जीका तर्फबाट सुशील थापा र बैंकहरूको तर्फबाट नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईएमबीले रु १० अर्ब, नबिल र लक्ष्मी सनराइज बैंकले रु आठ–आठ अर्ब, ग्लोबल आइएमई बैंकले रु सात अर्ब, एचआइडिसिएल र माछापुच्छ«े बैंकले रु चार–चार अर्ब, सिटिजन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रभु बैंकले रु तीन–तीन अर्ब, र कृषि विकास बैंकले रु दुई अर्ब ५० करोड ऋण लगानी गर्नेछन् । ऋण भुक्तानी अवधि पाँच वर्ष चार महिना तोकिएको छ ।
कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । सोअनुसार, वर्षायाममा प्रतियुनिट रु ४.८०, सामान्य सुक्खायाममा रु ८.४० र मुख्य सुक्खायाममा रु १०.५५ मा विद्युत् बिक्री गरिनेछ ।
समारोहमा कम्पनीले आउँदो भदौदेखि बाँध र पावरहाउस निर्माणका लागि जग्गा तयारी सुरु गर्ने र चैतबाट निर्माण कार्य प्रारम्भ गरिने जानकारी गराएको छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।
विद्युत् उत्पादनपछि ४५ किलोमिटर टाढा रहेको नुवाकोटको रातामाटे सबस्टेशनसम्म प्रसारण गरिनेछ, जुन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माणाधीन अवस्थामा छ ।
गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध निर्माण गरेर ६.९ किलोमिटर सुरुङमार्फत धार्चे गाउँपालिका–३ तातोपानीस्थित पावरहाउसमा पानी झारिनेछ ।
साहस ऊर्जा नेतृत्वमा रहेको टाइम्स इनर्जीले यसअघि ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा