सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

जलसरोकार
आइतबार, कात्तिक १६, २०८२ | ०९:३१:४६ बजे

 

काठमाडौं: नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (१७ डिसेम्बर २०२५) तोकिएको छ । आयोजनाका अनुसार सुरुङमार्ग भौतिक रूपमा सवारी सञ्चालनका लागि तयार भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारीका कारण हालसम्म सञ्चालनमा ल्याउन सकिएको छैन ।

मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) पनि तोकिसकेको छ ।

सुरुङमा अत्याधुनिक प्रणाली जडान गरिएको भए पनि सडक विभागको हालको कार्यबोझ, सीमित अनुभव र जनशक्तिको अभावका कारण सञ्चालन तथा मर्मत कठिन हुने देखिएपछि विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत पाँच वर्षसम्म सञ्चालन र मर्मत गर्न अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक छनोट गर्न लागिएको हो ।

यो अवधिमा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई प्रविधि हस्तान्तरण हुने तथा भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता ठूला पूर्वाधार परियोजना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनेछ । त्यसका लागि सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्नेछ ।

सञ्चालन र मर्मतका लागि कुल १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा टोली रहनेछ । सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना, टोल उठाउन ५४ जना, ट्राफिक सुविधा अनुगमन र नियन्त्रणका लागि १४ जना, सिभिल र अन्य संरचना मर्मतका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कात्तिक १६, २०८२ | ०९:३१:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया