भारतका विद्युत्‌मन्त्री खट्टर नेपाल आउदै

जलसरोकार
आइतबार, वैशाख ०७, २०८२ | १४:१८:४२ बजे

 

काठमाडौँ : भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा वैशाख ९ गते मङ्गलबार विहान दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।  

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएसँगै उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको सचिवालयले जनाएको छ ।

उर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनले सोहीदिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । उक्त दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

बैशाख १० गते भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।

विद्युत्मन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : आइतबार, वैशाख ०७, २०८२ | १४:१८:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई jalsarokarofficial@gmail.com मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया