‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्केका ऊर्जा मन्त्री खड्काले बिहीबार साँझ त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको ऊर्जा विकासको लागि आफ्नो भारत भ्रमण उपलब्धीमूलक रहेको बताएका हुन् ।
‘भारत भ्रमणका क्रममा भारतका विद्युत\ मन्त्री मनोहरलाल खट्टर, जलशक्ति मन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने अवसर मिल्यो, उक्त भेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको महसुस भएको छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले पञ्चेश्वर बहुद्देश्यीय आयोजनालाई अगाडि बढाउनेबारे एक हिसाबको सहमति अगाडि बढेको बताउँदै यसलाई प्रधानमन्त्रीस्तरीय बैठकबाट अन्तिम टुंगो लगाउनेबारे छलफल भएको उल्लेख गरे । उनले भारत भ्रमणका क्रममा नेपालसँग भएका ठूला आयोजनालाई सम्पन्न गर्नेबारे छलफल भएको बताए ।
ऊर्जा मन्त्री खड्काले नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीबारे दुई देशबीचका सचिवस्तरको बैठकमा सहमति भएको बताए । ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न उक्त सहमति कोशेढुंगा साबित भएको मन्त्री खड्काको भनाई थियो । मन्त्री खड्काले उक्त सहमति मुलुक र ऊर्जा क्षेत्रको लागि ठूलो उपलब्धी भएको बताए ।
‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत\ निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बंगलादेशमा १७/१८ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्छौँ,’ उनले भने ।
भारत भ्रमणका क्रममा बंगलादेशका ऊर्जा मन्त्रीसँग पनि आफ्नो महत्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताए । ‘हामीले जे उद्देश्यका साथ बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने उद्देश्य राखेका छौँ, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्त रुप लिन्छ,’ मन्त्री खड्काले भने ।
नेपालले सबै कुरा भारतकै सहयोग लिएर यसको विकास गर्ने भएका कारणले बंगलादेशतर्फ पनि प्रसारण लाइन बनाउने कुराको छलफल अगाडि बढेको मन्त्री खड्काको भनाई थियो ।
उनले ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ठूलो साथ र सहयोग आवश्यक रहेको बताए । उनले भारतको विद्युत् मन्त्री चाँडो नेपाल आउने तय भएको समेत जानकारी दिए ।
ऊर्जा मन्त्री खड्काले टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको बताए । उनले दुई देशबीच बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको वैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको बताए ।
मन्त्री खड्काले ऊर्जा सप्ताहमा कार्बन उत्सर्जन न्यूनीकरण गर्नका लागि ऊर्जाका नयाँ-नयाँ प्रविधिको प्रयोग भइरहेको बताउँदै उक्त प्रविधिलाई नेपालले समेत प्रयोग गरेर शून्य कार्बन उत्सर्जनतर्फ जानुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा ऊर्जा सचिव सुरेश आचार्यले दुई वर्षदेखि टुंगोमा पुग्न नसकेको नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन गत कात्तिकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरको भेटवार्तापश्चात् सम्भव भएको बताए ।
उनले नेपाल-भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले दुई देशबीचको सहसचिवस्तरिय संयुक्त कार्यदलको बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको जानकारी दिए । बैठकले ढल्केवर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाईनको क्षमता ८ सय मेगावाटबाट एक हजार मेगावाट पुर्याउने सहमति भएको बताए ।
यस्तै, नेपालको चमेलियादेखि भारतको जौलीजीवीसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको डिपिआर आगामी मार्चसम्म गर्ने र सन् २०२७ सम्म प्रसारण लाइन सम्पन्न गर्ने गरी दुबै देशले आ आफ्नो खण्डमा काम गर्ने सहमति भएको छ ।
नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण कार्य सन् २०३० सम्म सम्पन्न गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडको सेयर स्वामित्व रहनेगरी दुवैतर्फ संयुक्त कम्पनी स्थापना हुनेछ ।
दुई देशबीचको सम्झौतापछि नेपालतर्फ रहने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ रहने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ । दुवैतर्फका कम्पनीमा बाँकी ४९ प्रतिशत सेयर स्वामित्व अर्को देशको रहने व्यवस्था गरिएको छ ।
यस्तै सन् २०३५ सम्ममा ४०० केभी निजगढ-मोतिहारी र कोहलपुर-लखनउ प्रसारण लाइन निर्माण सम्पन्न गरिने साथै ढल्केवर-मुजफ्फरपुरमा थप ४०० केभीको अर्के प्रसारण लाइन निर्माण गर्ने सहमति भएको सचिव आचार्यले बताए ।
माण्डु हाइड्रोपावरको पुनःनिर्माण अन्तिम चरणमा
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
देशका अधिकांश भागमा आज मौसम सफा रहने
वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता
भारतबाट औसतमा ५ सय मेगावाट मात्रै आयात, यसरी भइरहेछ सुख्खायाममा लोड व्यवस्थापन
नोट छाप्न राष्ट्र बैंकले छान्यो ६ कम्पनी, दुई वर्षसम्म प्रतिस्पर्धा गर्न सक्ने