भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
जलसरोकार
काठमाडौं: भारत सरकारले नेपाललाई थप १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गत वर्ष असोजमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि नेपाललाई ३८ करोड मूल्यका १० वटा बेलिब्रिज सहयोग गरेको भारतले यस वर्ष पनि सोही संख्यामा पुल सहयोग गरेको हो ।
बिहीबार हेटौंडास्थित सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई औपचारिक रूपमा बेलिब्रिज हस्तान्तरण गरे ।
राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारत निरन्तर सहयोगी रहँदै आएको उल्लेख गर्दै यसपटक उपलब्ध गराइएका बेलिब्रिजहरू टिकाउ र आधुनिक प्रविधिमा आधारित रहेको बताए। भारत–नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानु आवश्यक रहेको उनको भनाइ थियो ।
बेलिब्रिज हस्तान्तरणपछि मन्त्री घिसिङले ७० मिटर लम्बाइका १० पुल उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गरे। उनले पूर्व–पश्चिम सडकदेखि भित्री मधेश जोड्ने हुलाकी राजमार्ग निर्माणमा भारतले दिएको सहयोग महत्वपूर्ण रहेको बताए। पूर्वाधार विकासले आर्थिक वृद्धिदर वृद्धि गर्नुका साथै नागरिकलाई राष्ट्रसँग जोड्ने कार्यमा मद्दत पुग्ने उल्लेख गर्दै उनले पुल निर्माण तत्काल आवश्यक स्थानहरू पहिचान गरिसकिएको जानकारी दिए ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माका अनुसार नेपालमा ५० मिटरभन्दा बढी लम्बाइका बेलिब्रिज खरिदमा कठिनाइ हुँदा भारतको सहयोगले ठूलो सहजता मिलेको छ। यसपटक प्रदान गरिएका पुलहरू ७० मिटर लम्बाइ र ५.२५ मिटर चौडाइका सिंगल लेन संरचना हुन् ।
उपलब्ध गराइने १० मध्ये हाल एक पुल नेपाल आइपुगेको र चार स्थानमा तत्काल जडान आवश्यक रहेको सचिव शर्माले बताए। उनका अनुसार भारतले पुल जडानमा प्राविधिक सहयोग गर्ने भएकाले नेपाली इञ्जिनियर तथा प्राविधिकहरूका लागि नयाँ प्रविधि सिक्ने अवसर पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
-
पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच
-
मन्त्री घिसिङद्वारा कान्ति राजमार्गको स्थलगत निरीक्षण
-
सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बेतन–कर्णाली ४३९ मेगावाट जलविद्युत् परियोजनामा लगानी स्वीकृत, तल्लो अरुण र अरुण–३ सम्बन्धी बोर्डकाे महत्वपूर्ण निर्णय
-
आज देशभरको मौसम सफा रहने