अविरल वर्षाले विभिन्न नदीमा खतरा तह नाघ्यो, असोज २० सम्म सतर्कता अपनाउन आग्रह


काठमाडौं : बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय बनेर भारी वर्षा भएको छ। यस अवधिमा विशेष गरी मधेश र बागमती प्रदेशका अधिकांश वर्षा मापन केन्द्रहरूमा भारीदेखि अत्यधिक वर्षा र कोशी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार असोज १८ गते बिहान ४:३० बजेदेखि असोज १९ गते बिहान ४:३० बजेसम्मको २४ घण्टे अवधिमा रौतहटको महेशपुर केन्द्रमा ३५८ मि.मि. वर्षा मापन भएको छ, जुन उक्त अवधिको सबैभन्दा बढी हो।
देशभर रहेका २९५ वर्षा मापन केन्द्रहरू (७९ म्यानुअल र २१६ स्वचालित) मध्ये १८६ केन्द्रमा वर्षा मापन गरिएको थियो। तीमध्ये १०५ वटा केन्द्रमा ५० मि.मि. भन्दा बढी, ६८ वटा केन्द्रमा १०० मि.मि. भन्दा बढी, २१ वटा केन्द्रमा २०० मि.मि. भन्दा बढी र ५ वटा केन्द्रमा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ।
३०० मि.मि. भन्दा बढी वर्षा मापन भएका केन्द्रहरू यस प्रकार छन् —
- इलामको भमाली गाउँ केन्द्र – ३३२.६ मि.मि.
- इलामकै कन्याम टी इस्टेट केन्द्र – ३१४.२ मि.मि.
- पाँचथरको मडुली केन्द्र – ३२८.६ मि.मि.
- रौतहटको महेशपुर केन्द्र – ३२८.० मि.मि.
- रौतहटकै गौर केन्द्र – ३१५.० मि.मि.
यी क्षेत्रहरूमा निरन्तर वर्षाका कारण नदीहरूको जलसतह तीव्र रूपमा बढेको विभागको भनाइ छ। असोज १८ गते अपराह्नदेखि बागमती, बिष्णुमती, पाशाहा, लालबकैया, कमला लगायतका नदीहरूले सतर्कता तह पार गरेका थिए भने हाल ती नदीहरूमा जलसतह घट्दो क्रममा रहेको विभागले जनाएको छ।
त्यसैगरी कोशी नदी र यसको सहायक नदीहरू — तमोर, सुनकोशी र अरुण — ले समेत खतरा तह पार गरेका छन्। ती नदीहरू अहिले घट्दो क्रममा रहेका छन्।
कोशी प्रदेशका चुरे–महाभारत क्षेत्रबाट उद्गम भएका कन्काई, बुढी खोला, लोहरन्रा, केशलिया र बिरिङ नदीहरूले पनि केही समयका लागि खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेका छन्।
कोशी नदीको चतरा केन्द्रमा बहाव हाल खतरा तह नजिकै स्थिर अवस्थामा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा अझै डुबान र बाढीको जोखिम कायम रहेकाले असोज २० गते मध्यान्हसम्म उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरिएको छ।
यस अवधिमा उल्लेखनीय वर्षा भएका प्रदेशहरूमा धेरैजसो स्थानमा स्थानीय बाढी, डुबान र नदी कटानका घटनाहरू देखिएको विभागले जनाएको छ। विभागका अनुसार बाढीले विशेष गरी तराई क्षेत्रका नदी नियन्त्रण संरचनाहरूमा क्षति पुर्याएको र केही स्थानमा जनजीवन प्रभावित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यसबीच, न्यून चापीय प्रणाली नेपालबाट पूर्वतिर सरेसँगै मनसुन कमजोर बन्दै गएको र मौसममा सुधार आउने संकेत देखिएको विभागले जनाएको छ। यद्यपि मनसुन पूर्णरूपमा कमजोर भइनसकेको हुँदा अझै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ।
विभागले हालको अवस्था निरन्तर अनुगमन गरिरहेको र मौसम तथा बाढीसम्बन्धी अद्यावधिक जानकारी आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री सेवा (११५५) तथा SMS प्रणालीमार्फत नियमित रूपमा प्रसारण गरिरहेको जनाएको छ।
विभागका अनुसार यी सूचनाहरू समयमै प्राप्त गरी स्थानीय निकाय, विपद् व्यवस्थापन समिति तथा सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनुपर्ने बताइएको छ।
यो जानकारी जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलद्वारा असोज १९ गते दिउँसो २ बजे जारी गरिएको प्रेस विज्ञप्ति नं. १९ मा उल्लेख गरिएको हो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई
-
भोटेकोशी पावर कम्पनीले जेन जी समूहलाई १० प्रतिशत शेयर बेच्ने
-
वर्षातपछि मेलम्चीको पानी काठमाडौँ ल्याइयो, दैनिक १७ करोड लिटर आपूर्ति सुरु