अविरल वर्षाबाट सिंचाईतर्फ करिब १० करोडको क्षति, नदी नियन्त्रण संरचनामा १५०० मिटर तटबन्ध कटान


काठमाडौं : असोज १७ र १८ गतेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीका घटनाहरु भई नदी नियन्त्रणतर्फ करिब १,५०० मिटर तटबन्ध कटान भएको छ । प्रारम्भिक अनुमान अनुसार करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रारम्भिक विवरण यस प्रकार रहेका छन् —
क) नदी नियन्त्रण तर्फ
१. कन्काई नदीले गौरीगञ्ज–२, झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरी होक्लाबारी गाउँका करिब ११४ घर बारी डुबानमा परेका छन् । साथै ५०० हेक्टर धान खेतमा क्षति भएको छ । झापा गाउँपालिका–२, कुवाडीमा पनि करिब २०० मिटर तटबन्ध कटान भई २५ हेक्टर खेतमा क्षति पुगेको छ । अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ रहेको छ ।
२. मेची नदीले विभिन्न स्थानमा रहेका स्परहरूमा क्षति पुर्याएको छ । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ रहेको छ ।
३. केशलिया नदी (बुढी खोला) मा आएको बाढीले बिराटनगर महानगरपालिका–६ र १२ का बस्तीहरू डुबानमा परेका छन् । सो क्षेत्रका करिब ७५ घरधुरीलाई स्थानान्तरण गरिएको छ ।
४. कमला नदीको पूर्वी किनारमा सिराहा–१७, पटेरुवास्थित तटबन्धमा क्षति पुगेको छ । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ रहेको छ ।
५. लालबकैया नदीको दायाँ किनारमा मौलापुर नगरपालिका–१, मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई १०० हेक्टर धान खेतमा क्षति पुर्याएको छ । त्यस्तै, बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर खेत डुबानमा परेको र करिब २०० घर–गोठ डुबानमा परेका छन् । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ रहेको छ ।
६. रातु नदी (महोत्तरी) ले बलवा नगरपालिका–२, १० र ११ का बन्चौरी, लेउरी, भल्नी र भगवतीपुर क्षेत्रमा गरी जम्मा ३९० मिटर तटबन्ध बगाएको छ । लोहरपट्टी नगरपालिका–६, लोहरपट्टीममा ४०० मिटर, महोत्तरी गाउँपालिका–६, रतबारामा २० मिटर र जलेश्वर नगरपालिका–१, ४ र ७ का बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति पुर्याएको छ ।
रातु नदीले जम्मा ८९० मिटर तटबन्ध कटान गरेको र सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको विभागले जनाएको छ । अनुमानित क्षतिको लागत करिब ८ करोड रुपैयाँ बराबर रहेको छ ।
ख) सिँचाइ तर्फ
१. सिँचाइ प्रणालीहरूको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित रूपमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लुइस, मूल नहर र शाखा नहरका गेटहरू समयमा नै सञ्चालन गरिएको हुँदा सिँचाइ प्रणालीमा उल्लेख्य क्षति नभएको सिंचाईं विभागले जनाएको छ ।
२. झाँज सिँचाइ प्रणालीको ब्यारेजभन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बाँधबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबानमा परेको छ ।
३. सुनसरी–मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाहरूको सिँचित क्षेत्रभित्र रहेका खोलाखोल्सीहरूले खेती योग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन गरिएको छ ।
४. सुनकोशी नदीमा आएको बाढीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबानमा परेको छ । कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरूको अवस्था एकिन हुन बाँकी रहेको विभागले जनाएको छ ।
ग) पहिरो तर्फ
इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू घटेका छन् । ती जिल्लाहरूको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको विभागले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई