सुख्खायाममै २ हजार ३८० मेगावाट पुग्यो विद्युत् माग
आयात ४ हजार मेगावाट-घण्टाभन्दा माथि, निर्यात पनि जारी
जलसरोकार
काठमाडौं : सुख्खायामका बीच नेपालमा विद्युत् माग उच्च विन्दुमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार देशको कुल पिक डिमाण्ड २ हजार ३८० मेगावाट पुगेको छ भने राष्ट्रिय पिक डिमाण्ड २ हजार १७० मेगावाट कायम रहेको छ ।
प्राधिकरणका अनुसार सोमबार कुल ऊर्जा माग ५२ हजार ३५१ मेगावाट-घण्टा (MWh) पुगेको छ । यो भनेको पूरै दिनभर खपत भएको कुल बिजुली बराबर हो। त्यसमध्ये ४६ हजार ३४ मेगावाट-घण्टा राष्ट्रिय प्रणालीभित्रको माग रहेको छ ।
विद्युत् आपूर्तिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । तथ्यांकअनुसार निजी क्षेत्रबाट २७ हजार ९९९ मेगावाट-घण्टा विद्युत् आपूर्ति भएको छ । नेपालको कुल विद्युत् ऊर्जा आपूर्तिमा निजी क्षेत्रको योगदान करिब ५८ प्रतिशत पुगेको देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ७५८ मेगावाट-घण्टा तथा प्राधिकरणका सहायक कम्पनीहरूबाट ११ हजार ४२७ मेगावाट-घण्टा विद्युत् प्रणालीमा प्रवाह भएको छ ।
सुख्खायामका कारण नदीमा पानीको बहाव घटेसँगै आन्तरिक उत्पादनमा दबाब देखिए पनि नेपालले भारतसँगको विद्युत् व्यापारमार्फत प्रणाली सन्तुलन गरिरहेको छ । सोमबार मात्रै ४ हजार १०१ मेगावाट-घण्टा विद्युत् आयात गरिएको छ भने ६ हजार ३१७ मेगावाट-घण्टा विद्युत् निर्यात भएको विवरणमा उल्लेख छ ।
ऊर्जा क्षेत्रमा पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा नेपालको विद्युत् प्रणालीमा निजी क्षेत्रको भूमिका निर्णायक बन्दै गएको देखिन्छ । अहिले कुल आपूर्तिको ठूलो हिस्सा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट धानिएको तथ्यांकले देखाएको छ ।
गर्मी बढेसँगै घरायसी उपकरणको प्रयोग, औद्योगिक माग तथा विद्युतीय सवारी चार्जिङ बढ्दा विद्युत् खपत पनि निरन्तर उकालो लागिरहेको प्राधिकरण स्रोत बताउँछ । विशेषगरी साँझको समयमा प्रणालीमाथि बढी दबाब पर्ने गरेको छ ।
यद्यपि हालसम्म प्रणालीमा लोडसेडिङको अवस्था भने देखिएको छैन । प्राधिकरणले आन्तरिक उत्पादन, आयात-निर्यात व्यवस्थापन तथा प्रसारण प्रणाली सन्तुलनमार्फत विद्युत् आपूर्ति निरन्तर राखिरहेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य