ऊर्जा क्षेत्रका मुद्दा संसदमा उठाउन निर्वाचनमा होमिएँ : भरत पराजुली
जलसरोकार
काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका गम्भीर समस्या संसदमा उठान गर्नकै लागि आफू निर्वाचन मैदानमा उत्रिएको बताएका छन् ।
मंगलबार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको मेरुदण्डका रूपमा लिइएको ऊर्जा क्षेत्र विभिन्न नीतिगत, संरचनागत र प्रशासनिक अवरोधका कारण सम्भावनामै सीमित हुन थालेको उल्लेख गरे । ऊर्जा क्षेत्रमाथि भइरहेको ‘चारैतर्फको आक्रमण’ रोक्न र समाधानको बहस संसदमा लैजान आफू सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेको उनको भनाइ थियो ।
दलभित्रको विकृति र कमजोरीप्रति संकेत गर्दै उनले भने, “दलभित्र नेता फोहोरी भए भनेर मात्रै हुँदैन, त्यो फोहर सफा गर्न मैदानमै उत्रिनुपर्छ । म त्यसैका लागि मैदानमा आएको हुँ ।”
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका व्यक्तिहरू संसदमा पुग्नु अत्यावश्यक भएको बताउँदै पराजुलीको उम्मेदवारीप्रति आफ्नो नैतिक समर्थन रहेको स्पष्ट पारे । आगामी निर्वाचनपछि प्रतिनिधिसभामा कम्तीमा आधा दर्जन ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरू पुग्नुपर्नेमा उनले जोड दिए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका विषयमा जानकार व्यक्तिहरू जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बने पनि संस्थाको समर्थन रहने बताए । “ऊर्जा उद्यमीहरूले लामो समय स्वतन्त्र रूपमा व्यवसाय गरे पनि राजनीतिक दलहरूले ऊर्जा क्षेत्रलाई बुझ्न सकेनन्,” उनले भने, “अब दलभित्रै ऊर्जा क्षेत्रलाई मुख्य एजेण्डा बनाउन आवश्यक छ । बाहिर बसेर गुनासो गरेर समाधान नहुने रहेछ ।”
इप्पानका महासचिव बलराम खतिवडाले पनि आगामी निर्वाचनपछि संसदमा धेरैभन्दा धेरै ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरू विजयी गराउन ऊर्जा उद्यमीहरूको तर्फबाट नैतिक सहयोग र समर्थन रहने स्पष्ट पारे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार