सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम : अध्यक्ष कार्की

जलसरोकार
बुधबार, वैशाख ०९, २०८३ | १६:२५:०३ बजे

 

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले सुदूरपश्चिम प्रदेश जलविद्युत् उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र भए पनि पूर्वाधार अभाव र नीतिगत जटिलताका कारण आयोजना कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना निर्माण सम्भावना र चुनौती विषयक अन्तक्र्रियामा बोल्दै उनले ऊर्जा क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्कीका अनुसार सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको देखिन्छ । उनले हालसम्म देशभर झण्डै १२ हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेको, करिब ३ हजार मेगावाटका आयोजना विद्युत् खरिद–बिक्री सम्झौता (एएब्) चरणमा रहेको तथा करिब २१ हजार मेगावाट क्षमताका आयोजना अध्ययन तथा निर्माण प्रक्रियामा रहेको जानकारी दिए ।

उनले सुदूरपश्चिममा मात्र २० प्रतिशतभन्दा बढी जलविद्युत् सम्भावना रहेको उल्लेख गर्दै त्यहाँ उत्पादित विद्युत् भारततर्फ निर्यात गर्न भौगोलिक रूपमा सहज हुने बताए ।

तर सडक तथा अन्य आधारभूत पूर्वाधारको अभावले आयोजना निर्माण ढिला भइरहेको उनको भनाइ छ। साथै वन क्षेत्र तथा राष्ट्रिय निकुञ्जसम्बन्धी कानुनी प्रावधान पनि प्रमुख अवरोधका रूपमा रहेको उनले बताए ।

कार्कीले सरकारको ऊर्जा नीति छिटो कार्यान्वयन गर्न र निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन आग्रह गरे। “सरकारले सहजीकरण गरे निजी क्षेत्र अझ ठूलो लगानी गर्न तयार छ,” उनले भने ।

उनका अनुसार ऊर्जा खपत बढाउन आन्तरिक बजार विस्तार र अतिरिक्त विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिनुपर्नेछ । “उत्पादन भएको विद्युत् प्रसारण गर्न नसक्दा बिक्रीमा समस्या आउँछ,” उनले चेतावनी दिए ।

पेट्रोलियम पदार्थ र ग्यासमा निर्भरता घटाउन जलविद्युत् उत्पादन र उपयोग बढाउनु नै दीर्घकालीन समाधान भएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति : बुधबार, वैशाख ०९, २०८३ | १६:२५:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया