समृद्ध नेपाल निर्माणमा जलविद्युत् मुख्य आधार : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : आइएमई ग्रुपले नेपालको जलविद्युत् क्षेत्रमा आफ्नो लगानी तथा प्रतिबद्धता थप विस्तार गर्दै स्वच्छ ऊर्जा उत्पादनमार्फत आर्थिक समृद्धि, औद्योगिक विकास र ऊर्जा आत्मनिर्भरतामा योगदान गर्ने लक्ष्य दोहोर्याएको छ ।
ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल जलस्रोतका दृष्टिले विश्वकै धनी राष्ट्रमध्ये एक भए पनि यसको उपयोग अझ प्रभावकारी रूपमा हुनुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सैद्धान्तिक सम्भावना रहेको नेपालमा आर्थिक तथा प्राविधिक रूपमा ठूलो हिस्सा उपयोग गर्न सकिने अवस्था छ। यसै सम्भावनालाई राष्ट्रको समृद्धिसँग जोड्ने उद्देश्यले आइएमई ग्रुपले ऊर्जा क्षेत्रमा निरन्तर लगानी गर्दै आएको उनले बताए ।
अध्यक्ष ढकालका अनुसार समूहले यसअघि लमजुङ जिल्लामा २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना र म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरी व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । ती आयोजनाहरूले राष्ट्रिय विद्युत प्रणालीमा स्वच्छ ऊर्जा थप्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको उनले उल्लेख गरे।
त्यसैगरी, समूहले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ६६ मेगावाट क्षमताको तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको छ। उक्त आयोजना केवल ऊर्जा उत्पादनमा सीमित नभई क्षेत्रीय सामाजिक–आर्थिक रूपान्तरणको आधार बन्ने विश्वास लिइएको छ। आयोजनाले स्थानीय रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास, व्यवसायिक गतिविधि विस्तार तथा समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अध्यक्ष ढकालले जलविद्युतलाई नेपालको विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै ऊर्जा बिना औद्योगिक विकास, कृषि आधुनिकीकरण, डिजिटल सेवा विस्तार र समग्र आर्थिक वृद्धि सम्भव नहुने बताए। पर्याप्त र भरपर्दो विद्युत आपूर्तिले मात्र तीव्र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ।
उनका अनुसार नेपाल ऊर्जा आत्मनिर्भरताको दिशामा अघि बढिरहेको छ र आगामी दिनमा जलविद्युत उत्पादन वृद्धि गर्दै राष्ट्रिय प्रसारण प्रणाली सुदृढ बनाउने तथा छिमेकी मुलुकहरूमा विद्युत निर्यात गर्ने ठूलो सम्भावना रहेको छ। यसबाट विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
आइएमई ग्रुपले स्वच्छ ऊर्जा, दिगो विकास, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमार्फत समुन्नत नेपाल निर्माणमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य