ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सेयर बजार मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना सिक्टा सिँचाइ कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण : ढकाल

जलसरोकार
बिहीबार, साउन ०८, २०८२ | ०८:४६:५६ बजे

काठमाडौं : मानार्थ वाणिज्यदूत संघ-नेपाल (एचसीसी-एन) का डीन चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरूको भूमिका अत्यन्तै सक्रिय र निर्णायक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एचसीसी-एनको १८औं साधारणसभा तथा चार्टर डेको अवसरमा सम्बोधन गर्दै ढकालले भने, ‘हामी केवल औपचारिक वा प्रतीकात्मक प्रतिनिधि होइनौं। हामी नेपालको कूटनीति र समृद्धिमा सक्रिय, सक्षम र प्रतिबद्ध साझेदार हौं।’

तेज गतिमा परस्पर जोडिएको विश्वमा आर्थिक कूटनीतिको महत्व तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै ढकालले भने, ‘आजको वैश्विक परिप्रेक्ष्यमा आर्थिक कूटनीति अब विकल्प होइन, आवश्यकता बनिसकेको छ।’

आईएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्षसमेत रहेका ढकालले संघ (एचसीसी-एन) नेपालको राष्ट्रिय हितप्रति समर्पित रहेको दोहोर्‍याए। नेपाल अब न्यूनतम विकसित देश (एलडीसी) श्रेणीबाट स्नातक हुने दिशातर्फ अघि बढिरहेको सन्दर्भमा उनले मानार्थ वाणिज्यदूतहरूलाई आर्थिक रूपान्तरणका लागि ‘स्वेच्छिक दूत’ को रूपमा क्रियाशील हुन आग्रह गरे।

उनले मानार्थ वाणिज्यदूतहरूको संघ पहिलेभन्दा अझ एकीकृत, संगठित र राष्ट्रिय प्राथमिकताहरूप्रति प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा उनले विदेश मन्त्रालय र एचसीसी-एनबीचको सहकार्य उल्लेख गर्दै नेपालकै पहिलो आर्थिक सम्मेलन आयोजना गर्न एफएनसीसीआईको सहकार्यमा आवश्यक पूर्वाधार तयार गरिएको जानकारी पनि दिए।

चन्द्रगिरीमा आयोजित एक कार्यशालाको स्मरण गर्दै उनले त्यहाँ मानार्थ वाणिज्यदूतहरूले वैदेशिक लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र प्रवासी नेपालीको संलग्नता प्रवर्द्धन गर्न प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमकी प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरूको भूमिकामा क्रमशः विस्तार भइरेहेकोमा सराहना गर्दै उनीहरूले व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग सेतुको काम गर्नसक्ने उल्लेख गरिन्।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व अवरमहासचिव ज्ञनचन्द्र आचार्यले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै कूटनीति र विकासबीच समन्वयात्मक प्रयासमार्फत सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमको अन्त्यमा  ढकालले मानार्थ वाणिज्यदूत संघको डीनको पद हस्तान्तरण गर्दै उक्त जिम्मेवारी अब बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला बिक्रम थापालाई औपचारिक रूपमा सुम्पिए।

कार्यक्रममा सरकारी अधिकारी, कूटनीतिज्ञ, तथा विभिन्न देशका मानार्थ वाणिज्यदूतहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति : बिहीबार, साउन ०८, २०८२ | ०८:४६:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया