कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो भोटेकोशी जलविद्युत तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्री अर्यालको निर्देशन

जलसरोकार
बिहीबार, असोज २३, २०८२ | १०:१०:१६ बजे

 

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरूको नाममा निशुल्क सेयरको माग गर्दै बन्द गरिएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजना प्रतिनिधिहरूले गृहमन्त्रीलाई भेटी घटनाबारे जानकारी गराएका थिए। भेटका क्रममा अध्यक्ष कार्कीले जेन–जी युवाहरूको नाममा जलविद्युत आयोजना बन्द गराइनु अराजकता भएको भन्दै तत्काल आयोजना सञ्चालनका लागि वातावरण बनाउन माग गरेका थिए ।

इप्पानको माग सुनेपछि गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी आयोजनाको उत्पादन तत्काल पुनः सुरु गर्न निर्देशन दिएको गृहमन्त्रालय स्रोतले जानकरी दियो ।

गृहमन्त्री अर्यालले भने, “जेन–जी युवाहरूले माग राख्न सक्छन्, तर जायज मागहरू वार्ता र छलफलबाट समाधान गर्नुपर्छ । आयोजना उत्पादन नै बन्द गराउन त भएन । तपाईंले सञ्चालनमा ल्याउन नसक्नुभएको खण्डमा गृहले सहयोग गर्न तयार छ, तर विद्युत उत्पादन रोक्न दिनुहुन्न ।”

भदौ २५ गतेदेखि जेन–जी युवाहरूले १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग गर्दै सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना बन्द गराएका थिए । पूर्ण क्षमतामा सञ्चालन हुँदा आयोजनाले दैनिक करिब ९८ लाख रुपैयाँ बराबरको विद्युत उत्पादन गर्दै आएको थियो । आयोजनाको उत्पादन २८ दिनदेखि अवरुद्ध हुँदा करिब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमिसकेको भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताए ।

जेन–जी समूहले १० प्रतिशत निशुल्क सेयर नदिएसम्म उत्पादन गर्न नदिने धम्कीपत्र पठाएका थिए । यसबीचमा अन्य स्थानीय समूहहरूले पनि सिन्धुपाल्चोकका अन्य जलविद्युत् आयोजनामा सोही मागसहित पत्र पठाएका छन् ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाहरू राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकाले राज्यले हरेक अवस्थामा सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । निजी क्षेत्रले १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरी ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको अवस्थामा सुरक्षाको प्रत्याभूति नपाए निजी क्षेत्र निरुत्साहित हुने चेतावनी पनि उनले दिए ।  

त्यस्तै माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले यस्तो अराजक गतिविधिले जलविद्युत उत्पादकहरूको मनोबल घटाएको र यसले भविष्यमा थप लगानी रोक्ने अवस्था सिर्जना गरिरहेको टिप्पणी गरे ।

यसैबीच, जेन–जी युवाहरूले २२.२ मेगावाटको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाबाट पनि १० प्रतिशत निशुल्क सेयर नपाए असोज ३० गतेदेखि उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् । अहिले सिन्धुपाल्चोकका ३६ मेगावाटको माथिल्लो बलेफी–ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा समेत सोही माग राखिएको छ।

त्यस्तै निर्माणाधीन २२.१४ मेगावाटको बलेफी–ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दुधखोला लगायतका आयोजनामा पनि जेन–जी तथा स्थानीय युवाहरूको नाममा १० प्रतिशत निशुल्क सेयर माग्दै पत्र पठाइएको छ।

प्रकाशित मिति : बिहीबार, असोज २३, २०८२ | १०:१०:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया