प्रधानमन्त्रीद्वारा हेटौंडा सबस्टेसन उद्घाटन, भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने
जलसरोकार
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ ।
यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो ।
हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ ।

यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । उक्त आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।
सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौँडा सबस्टेसन निर्माणका लागि २०१८ डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत रु तीन अर्ब रहेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड