ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गर्ने गभर्नर डा पौडेलको चेतावनी
जलसरोकार
धनुषा: नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पु-याउनेमा आफ्नो ध्यान रहेको बताए ।
ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनको भनाइ छ । धनुषाका व्यापारीहरुले विगतमा बैङ्कहरुले धितो राखी ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् ।
सो छलफलमा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए ।
धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ । “मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उनले भने,“त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।”
बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।
छलफलमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो