सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, मापदण्ड तयार गर्न पाँच सदस्यीय उपसमिति गठन

जलसरोकार
शुक्रबार, भदौ ०५, २०८३ | ०९:३८:४१ बजे

 

काठमाडौं : सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले पीपीए गर्ने सम्बन्धमा आवश्यक मापदण्ड तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिलाई सात दिनभित्र पीपीएको मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्। व्यापार शाखाका निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ।

प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाबमोजिम उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग पीपीए गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न लागिएको हो।

निर्णयमा प्राधिकरणमा विद्यमान पीपीएसम्बन्धी आधार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेत अध्ययन तथा विश्लेषण गरी मापदण्ड तयार गर्न उपसमिति गठन गरिएको उल्लेख छ।

उक्त उपसमितिले तयार गर्ने मापदण्डका आधारमा उत्पादन अनुमतिपत्र प्राप्त गरेका ऊर्जा उत्पादकसँग पीपीए अघि बढाउने सरकारको तयारी छ।

प्रकाशित मिति : शुक्रबार, भदौ ०५, २०८३ | ०९:३८:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया