सुरुङ उद्धारमा विशेष प्रविधि होइन, उपकरण पुर्याउन सरकार चुक्यो : कुलमान
जलसरोकार
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुङभित्र फसेका नागरिकको उद्धारमा विशेष प्रविधिको अभावभन्दा आवश्यक उपकरण समयमै पुर्याउन नसक्नु मुख्य कमजोरी भएको बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि उनले सुरुङ उद्धारका लागि रेस्क्यु टोलीसँगै जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनलगायतका भारी उपकरण तत्काल घटनास्थलमा पुर्याउनुपर्ने बताए ।
उनका अनुसार बाढीका कारण सडक तथा पहुँचमार्ग अवरुद्ध हुँदा भारी उपकरण घटनास्थलसम्म पुर्याउन ढिलाइ भएको हो । त्यस्ता उपकरण हेलिकप्टरमार्फत तत्काल पुर्याएर सुरुङ खन्ने र भित्रको भग्नावशेष हटाउने कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
घिसिङले आवश्यक परे नेपालमा उपलब्ध स्रोतसाधन र हेलिकप्टरले मात्रै नपुगे विदेशी स्रोत तथा उपकरणसमेत तत्काल ल्याउनुपर्ने बताए । उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दृढतापूर्वक काम गर्ने आश्वासन दिएको पनि उनले जानकारी दिए ।
अध्यक्ष घिसिङले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सडक सम्पर्क तत्काल जोड्नुपर्ने बताएका छन् । उनले सडक पहुँच नभएका क्षेत्रमा हेलिकप्टरबाट राहत पुर्याउनुपर्ने अवस्था रहेकाले स्याफ्रुबेंसीसम्म सडक जोड्ने र आवश्यक स्थानमा बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन सुझाव दिएको बताए ।
उनले राहत वितरणमा सरकारसहित विभिन्न निकाय र गैरसरकारी संस्थाहरू सक्रिय रहे पनि सडक सम्पर्क नभएका क्षेत्रसम्म प्रभावकारी रूपमा राहत पुर्याउन अझै चुनौती रहेको बताए । उनका अनुसार सुरुमा उद्धार र राहतका लागि हेलिकप्टरको विकल्प नभए पनि त्यसको प्रभावकारी प्रयोग र परिणाम महत्वपूर्ण हुन्छ ।
घिसिङले बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै स्थानीय तह र जनतामा रहेको आक्रोश आफूहरूले सरकारसमक्ष राखेको बताए । साथै, होल्डिङ सेन्टरमा रहेका बालबालिका तथा अन्य प्रभावितको सामाजिक र स्वास्थ्य सुरक्षालाई व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
उनले विपद् व्यवस्थापनमा देखिएका कमजोरी सच्याउँदै आगामी दिनमा पूर्वतयारी र जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक विषयमा समेत छलफल भएको जानकारी दिँदै घिसिङले सरकारलाई आवश्यक सुझाव, अनुभव र सहयोग उपलब्ध गराउन आफ्नो पार्टी तयार रहेको बताए । ऊर्जा, पूर्वाधारलगायतका विषयमा आवश्यक पर्दा छलफलका लागि बोलाउने आश्वासन प्रधानमन्त्रीले दिएको उनको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए
-
सुरुङ उद्धारमा विशेष प्रविधि होइन, उपकरण पुर्याउन सरकार चुक्यो : कुलमान
-
प्रधानमन्त्रीलाई कुलमानको सुझाव : सुरुङमा फसेकाको तत्काल उद्धार, जलविद्युत्लाई विशेष प्याकेज देऊ
-
माया खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको पूर्वस्वीकृति
-
बजारबाट १८ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
बिहीबार सुन प्रतितोला ७ हजार ६०० रुपैयाँले बढ्यो