दीपक खड्का नबिल बैंक सेयर बजार ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जा मन्त्री खड्का

जलसरोकार
शनिबार, साउन ३१, २०८२ | ०७:५६:३६ बजे

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले श्रमशक्ति नै विकासको आधार भएको भन्दै काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित पदक तथा सम्मान कार्यक्रममा मन्त्री खड्काले ज्यालादारी कर्मचारीको योगदानलाई उच्च मूल्याङ्कन गर्दै श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए । ‘विद्युत क्षेत्रको विकासमा ज्यालादारी कर्मचारीले महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरूको माग सम्बोधनका लागि सञ्चालक समिति लागेको छ,’ उनले भने ।

ऊर्जा क्षेत्रलाई सरकारले चाँडो समृद्धि दिलाउने आधारको रूपमा लिएको उल्लेख गर्दै मन्त्री खड्काले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिए ।  सो लक्ष्य पूरा गर्न प्राधिकरणको भूमिका महत्त्वपूर्ण हुनेमा उनले जोड दिए ।

मन्त्री खड्काले भारतसँगै बङ्गलादेशमा पनि विद्युत बिक्री सुरु भइसकेको उल्लेख गर्दै आगामी दिनमा निर्यातलाई अझ विस्तार गर्ने योजना रहेको बताए । ‘विद्युत आयात घटाउँदै निर्यात बढाउने दिशामा सरकारले ठोस कदम चालेको छ,’ उनको भनाइ थियो ।

गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास सम्भव नहुने बताउँदै उनले जलविद्युतमा धितोबिनै ऋण उपलब्ध गराउने व्यवस्था सरकारले गरेको जानकारी दिए ।

 बुढीगण्डकी, अपर अरुण, तमोर, पञ्चेश्वर, दुधकोशी र पश्चिम सेतीलगायतका ठूला आयोजना छिट्टै अघि बढाइने उनले स्पष्ट पारे ।

उद्योगहरूले प्रयोग गर्ने विद्युत शुल्क टीओडी मिटरका आधारमा असुल गर्ने प्राधिकरणको अधिकार भएको मन्त्री खड्काले स्मरण गराए । डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा अलमलिनुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई हालसम्म ल्याउन योगदान दिने कर्मचारीप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त  गरे ।

सो अवसरमा मन्त्री खड्काले २० वर्षभन्दा बढी सेवा गर्ने ५९४ जना कर्मचारीलाई दीर्घसेवा पदक, २९३ जना अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युतकर्मीका परिवारलाई सम्मान गरे ।

प्रकाशित मिति : शनिबार, साउन ३१, २०८२ | ०७:५६:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया