सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक विराजभक्त श्रेष्ठ नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने

जलसरोकार
बुधबार, चैत १८, २०८२ | १५:०५:४७ बजे

 

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावली र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो ।

नवगठित एकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ ।

एकाइको संयोजकका रूपमा प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यस्तै कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिव सदस्य सचिव रहनेछन् ।

एकाइले विशेषगरी ‘डेलिभरी–आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका काम तोकिएको समयसीमाभित्र सम्पन्न भए वा नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे वा नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो छ भन्ने विषयमा निगरानी गर्नेछ ।

यसका अतिरिक्त कर्मचारीहरूको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना तथा सरकारी स्रोतसाधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस एकाइमार्फत कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने र सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : बुधबार, चैत १८, २०८२ | १५:०५:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया