सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी लगातार बढिरहेको सुनको मूल्यले एक साताभित्रै करिब १० हजार रुपैयाँको वृद्धि गरेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो, जसपछि दैनिकजसो वृद्धि हुँदै आज अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु, विश्व बजारमा सुनप्रतिको आकर्षण बढ्नु र लगानीकर्ताहरूले सुरक्षित लगानीको विकल्पका रूपमा सुन रोज्नुजस्ता कारणले मूल्यमा वृद्धि भइरहेको हो । साथै, भारत, चीनजस्ता ठूला बजारमा माग बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेको व्यवसायीहरू बताउँछन् ।
सुनको मूल्य निरन्तर बढिरहेसँगै आभूषण व्यवसाय भने सुस्त भएको सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले बताएका छन् । उपभोक्ता स्तरमा माग घटेका कारण ससाना सुनचाँदी पसलमा कारोबार दबाबमा परेको छ । तर लगानीका हिसाबले भने धेरैले सुनलाई सुरक्षित माध्यमका रूपमा हेरेका छन् ।
यसैबीच, चाँदीको मूल्य पनि आज उच्च बनेको छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर २४९० रुपैयाँमा पुगेको छ । यो मूल्य पनि हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
सुन–चाँदी दुवैको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेसँगै बजारमा त्यसको दीर्घकालीन प्रभावबारे चर्चा बढेको छ । कतिपयले यसलाई अस्थायी मूल्य–उछाल भनेका छन् भने कतिपयले यो दर अझै केही समय निरन्तर रहन सक्ने आकलन गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा