जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

जलसरोकार
आइतबार, वैशाख २१, २०८२ | १२:४२:५० बजे

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि उक्त प्रतियोगिता संचालन गरेको जनाएको छ । 

 प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागी  थिए ।  

सहभागी टोलीहरुमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप रु १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् । 

दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५-१५ हजारको पुरस्कार प्राप्त गरे ।  साथै, वेष्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रतियोगिताका विजेता टोलीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।

नेपालमा पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर  मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।  यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास  डेपुटी गभर्नर मिश्रले व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी रेग्मीले गरे ।

बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । दुई चरणमा भएको ह्याकाथन प्रतियोगितामा  पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ 

प्रकाशित मिति : आइतबार, वैशाख २१, २०८२ | १२:४२:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया