विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान
जलसरोकार
भोजपुर : जिल्लाकाे रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरिएको छ। वर्षौँदेखि अँध्यारोमा जीवन बिताउँदै आएका परिवारलाई उज्यालोको पहुँचमा ल्याएर जीवनस्तर सुधार गर्ने उद्देश्यसहित वडा कार्यालयले कार्यक्रम अघि बढाएको हो।
वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकिएको छ। आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उनले बताए ।
“वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ,” वडाध्यक्ष राईले भने, “आर्थिक अभावकै कारण अँध्यारोमा बस्नुपरेका परिवारलाई उज्यालो दिने हाम्रो सानो प्रयास हो।”
वडाले यस कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको पठनपाठन, घरेलु कामकाज र सुरक्षामा समेत सकारात्मक प्रभाव परेको वडाको भनाइ छ।
स्थानीयवासी सुदर्शन गहतराजले विद्युत् सेवा उपलब्ध भएपछि साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको बताए । “आर्थिक अभावमा घरमा विद्युत् जडान गर्न सकेको थिइनँ,” उनले भने, “वडाको सहयोगमा विद्युत् बाल्न पाउँदा निकै खुसी लागेको छ।”
अर्का स्थानीय मानबहादुर विश्वकर्माले पनि घरमा विद्युत् जडान भएपछि बालबालिकाको अध्ययन सहज भएको र उज्यालोमा बस्न पाएको बताए । उनका अनुसार वडाको पहलले विपन्न परिवारको बस्तीमा नयाँ आशा र सहजता थपिएको छ।
वडा कार्यालयका अनुसार वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेको छ। बाँकी रहेका घरधुरीमा पनि विद्युत् जडान गरी “उज्यालो वडा” घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य