सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आर्थिक विकासका लागि निजी क्षेत्रका समस्या र समाधान खोज्न पूर्व अर्थमन्त्री डा. महतको विशेष संवाद

जलसरोकार
बिहीबार, साउन २८, २०८३ | ११:३९:३५ बजे

काठमाडौं : पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार नेपालको आर्थिक विकासका लागि आवश्यक अर्थनीतिबारे निजी क्षेत्रसँग विशेष संवाद गरेका छन्। निजी क्षेत्रले भोगिरहेका समस्या बुझ्ने, त्यसको निकास खोज्ने तथा आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले काठमाडौंमा संवाद आयोजना गरिएको हो।

संवादमा निजी क्षेत्रका प्रतिनिधि तथा अर्थ, योजना र कृषि क्षेत्रका विज्ञहरूले आर्थिक विकासका लागि आवश्यक नीतिगत विषय तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे धारणा राखेका थिए।

कार्यक्रममा स्वतन्त्र विद्युत् उत्पादक संघ (इप्पान) का सल्लाहकार तथा ऊर्जा विकासका राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारीले औद्योगिक तथा व्यापारिक विकासको आधारभूत पूर्वाधारका रूपमा ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताए।

‘हामी जतिसुकै औद्योगिक व्यापारमा लगानीको कुरा गर्छौं, यसको मेरुदण्ड र पूर्वाधारमध्येको पनि आधारभूत पूर्वाधार ऊर्जाबाट फड्को मार्न सकिँदैन तबसम्म यस्ता बहसहरू निरर्थक हुँदै जान्छन्,’ उनले भने।

भण्डारीले निजी क्षेत्रका समस्या समाधान तथा आर्थिक विकासका लागि आयोजना गरिएको संवादलाई अर्थपूर्ण रूपमा लिएका थिए। उनी नेपाली कांग्रेसका केन्द्रीय नीति प्रतिष्ठानका पूर्वसदस्यसमेत हुन्।

संवादमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठ, सीएनआईका अध्यक्ष वीरेन्द्रबहादुर पाण्डे, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, इप्पानका सल्लाहकार तथा ऊर्जा विकासका राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारी सहभागी थिए।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, अर्थविद् प्रा. रामप्रसाद ज्ञवाली, उद्योग व्यवसायी कृष्णमान श्रेष्ठ, कृषि विशेषज्ञ डा. सूर्य पौडेल र अनन्त भट्टराईलगायतको सहभागिता थियो।

कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुलीले गरेका थिए। संवादमा निजी क्षेत्रका समस्याबारे छलफल गर्दै तिनको निकास तथा आर्थिक विकासका लागि आवश्यक सुझाव संकलन गरिएको थियो।

प्रकाशित मिति : बिहीबार, साउन २८, २०८३ | ११:३९:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया