विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
जलसरोकार
काठमाडौं : विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डिल्लीबहादुर सिंह यस वर्षको ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्मानपत्र तथा दोसल्लासहित सिंहलाई सम्मान प्रदान गरेका हुन् ।
ऊर्जा क्षेत्रका अनुभवी प्रशासक मानिने सिंहले विभिन्न सरकारी निकायमा रही झण्डै साढे चार दशक योगदान दिएका छन् । उनले करिब ३८ वर्ष निरन्तर सरकारी सेवामा काम गरेका थिए । ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायमा जिम्मेवारी सम्हाल्दै उनी विद्युत् विकास विभागको महानिर्देशकसम्म पुगेका थिए ।
निजामती सेवाबाट अवकाशपछि पनि सिंह ऊर्जा क्षेत्रमै सक्रिय रहे । उनी विद्युत् नियमन आयोगको अध्यक्षमा नियुक्त भई पाँच वर्षे कार्यकाल पूरा गरेका थिए । ऊर्जा क्षेत्रको नीतिगत, प्रशासनिक तथा संस्थागत विकासमा पुर्याएको दीर्घ योगदानको कदरस्वरूप उनलाई ‘ऊर्जा ज्योति सम्मान’ प्रदान गरिएको इप्पानले जनाएको छ ।
तर ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार सिंहलाई सम्मान गर्नुपर्ने कारण केवल लामो सरकारी सेवा मात्र होइन । नेपालको निजी क्षेत्रको जलविद्युत् विकासमा उनले दुई महत्वपूर्ण क्षेत्रमा निर्णायक भूमिका खेलेका थिए ।
पहिलो, वित्तीय संकटमा परेका रुग्ण जलविद्युत् आयोजनाहरूलाई पुनर्जीवन दिन नेपाल राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण पुनर्कर्जा उपलब्ध गराउने विषयमा उनले महत्वपूर्ण पहल गरेका थिए । बैंक ऋण, निर्माण ढिलाइ र लागत वृद्धिका कारण समस्यामा परेका धेरै जलविद्युत् आयोजनाले त्यतिबेला राहत पाएका थिए । ऊर्जा क्षेत्रका प्रवर्द्धकहरूका अनुसार निजी जलविद्युत् क्षेत्रलाई ढल्नबाट जोगाउन त्यसबेला सिंहले गरेको पहल महत्वपूर्ण मानिन्छ ।
दोस्रो, उनले नेपालका जलविद्युत् कम्पनीहरूलाई सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने वातावरण बनाउन पनि भूमिका खेलेका थिए । जलविद्युत् कम्पनीहरूलाई पूँजी बजारमा प्रवेश गराउने तथा सर्वसाधारणलाई ऊर्जा क्षेत्रमा लगानी गर्ने अवसर विस्तार गर्न उनले नीतिगत तथा प्रशासनिक सहजीकरण गरेको ऊर्जा क्षेत्रका व्यवसायीहरू बताउँछन् ।
ऊर्जा क्षेत्रसँगै सिंह साहित्य क्षेत्रमा पनि सक्रिय छन् । उनका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । प्रशासन, समाज, जीवनदर्शन तथा समसामयिक विषयमा लेखन गर्दै आएका सिंहलाई ऊर्जा क्षेत्रका प्राविधिक–प्रशासकसँगै साहित्यकारका रूपमा पनि चिनिन्छ ।
ऊर्जा उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंकी छोरी स्वर्गीय श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरिएको उक्त सम्मानको राशी नगद एक लाख रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अदालतले अवैध ठहर गरेको सिन्धु ज्वाला हाइड्रोका अध्यक्ष र सञ्चालक इप्पान निर्वाचनमा सरिक
-
पुँजीगत खर्च द्रुत बनाउन अधिकार प्रत्यायोजन गरिएको अर्थमन्त्रीको दाबी
-
नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
-
विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
-
अव्यवस्थित रूपमा झुण्डिएका दूरसञ्चार र इन्टरनेटका तार हटाइँदै
-
३० हजार मेगावाट लक्ष्य आर्थिक भविष्यसँग जोडिएको हो : सांसद भरत पराजुली