दुई वर्षपछि कार्यान्वयनमा आयो डाडाखेत–राहुघाट प्रसारण लाइनको रुख कटान आदेश
जलसरोकार
काठमाडौँ : म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय दुई वर्षपछि कार्यान्वयनमा आएको छ ।
मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङसम्म २५ किलोमिटर दूरीमा निर्माण भइरहेको प्रसारण लाइनका लागि ‘राइट अफ वे’ तथा टावर निर्माण प्रयोजनका लागि २५.६२ हेक्टर वन क्षेत्र प्रयोग गर्न २०८० फागुन ६ गते मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
तर, स्वीकृतिपछि पनि वन कटान आदेश नआउँदा आयोजना निर्माण प्रभावित बनेको थियो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार डिभिजन वन कार्यालयबाट गत शुक्रबार मात्रै कटान आदेश प्राप्त भएपछि रोकिएको कामले गति लिएको छ ।
“कटान आदेश नपाउँदा वन क्षेत्रमा तार तान्ने काम रोकिएको थियो,” उनले भने, “अब निर्माणकार्य तीव्र बनाइएको छ ।”
आयोजनास्थलमा तीन हजार ९३६ वटा रुख रहेका छन् । प्रसारण लाइनका कुल ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्रमा र ४२ वटा निजी जग्गामा निर्माण भइरहेका छन् । वन क्षेत्र प्रयोग गरेबापत आयोजनाले २०८१ असोजमै ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउन पहिलो किस्ताको रकम उपलब्ध गराइसकेको जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीले स्वीकृत रुख पहिचानका लागि स्थलगत अनुगमन आवश्यक परेकाले कटान आदेश दिन ढिलाइ भएको बताए ।
म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भइरहेको यो आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु ३ अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता गरिएको थियो ।
निर्माण अवधि पटक–पटक थपिँदै हाल तेस्रोपटक २०२६ मे १६ सम्म म्याद कायम गरिएको छ । वन क्षेत्रमा रुख कटान आदेश ढिलाइ, राहुघाट सबस्टेशन क्षेत्रको कमजोर भूगोल, विपद् जोखिम तथा केही टावर निर्माणस्थलमा स्थानीय विवादका कारण आयोजना लम्बिएको आयोजना प्रमुख अग्रवालले बताए ।
उनका अनुसार अबको तीन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीले मजदुर र उपकरण थपेर कामलाई तीव्रता दिएको छ । हालसम्म ८२ मध्ये ७१ वटा टावर खडा भइसकेका छन् भने प्रसारण लाइन र सबस्टेशनका उपकरण आयात गरिसकिएको छ ।
डाडाखेत सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत तथा राहुघाट सबस्टेशनमा ६५ प्रतिशत प्रगति भएको जनाइएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले तोकिएको समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
डाडाखेतमा १३३/३३ केभी क्षमताको ३० एमभिए एआइएस प्रविधियुक्त सबस्टेशन निर्माण भइरहेको छ भने राहुघाटमा २२०/१३२/३३ केभी क्षमताको २०० एमभिए जिआइएस प्रविधियुक्त सबस्टेशन अन्तिम चरणमा पुगेको छ ।
कुल रु ४ अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड तथा एसियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड ऋण लगानी रहेको छ ।
म्याग्दी नदी क्षेत्रमा हाल १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । साथै ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला तथा २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने