बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
जलसरोकार
काठमाडौं: देशको विदेशी मुद्रा सञ्चिति बढेर रु २८ खर्ब छ अर्ब चार करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार गत असार मसान्तमा रहेको रु २६ खर्ब ७७ अर्ब ६८ करोडको तुलनामा यस अवधिमा सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा हेरिँदा, गत असार मसान्तमा सञ्चिति १९ अर्ब ५० करोड थियो भने साउन मसान्तसम्म बढेर २० अर्ब तीन करोड पुगेको छ, जसमा करिब २.७ प्रतिशतको वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकमा मात्र रहेको विदेशी विनिमय सञ्चिति पनि चार प्रतिशतले बढेर रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । यस्तै, वाणिज्य बैंक र अन्य वित्तीय संस्थामा सञ्चित रकम १२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ ।
साउन मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको छ । हालको सञ्चिति आयात धान्ने क्षमताका हिसाबले २०.४ महिनासम्मको वस्तु आयात र १६.६ महिनासम्मको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने अनुमान गरिएको छ ।
यस अवधिमा चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ३३ अर्ब आठ करोड थियो । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको तुलनामा घटेर रु ६९ करोडमा सीमित भएको छ ।
शोधनान्तर स्थिति पनि सुधारिएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ८९ अर्ब ३० करोडले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु ४० अर्ब ९० करोड मात्र थियो ।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति स्थिर रहनु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै आगामी दिनमा समेत सञ्चिति सुदृढ बनाउन ध्यान दिने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना