नेपाल-कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को बैठक काठमाडौंमा आयोजना हुने
महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानी बीच कतारमा भेटवार्ता
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।
उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।
नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । “नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत्, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीका लागि आग्रह गर्दछु,” उनले भने ।
ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे । उनले एआई आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदान–प्रदान गर्ने प्रस्ताव गरे । “उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधिमैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्याउनेछ,” उनले भने ।
भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा बिन जासिम बिन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । यस्तै, उनले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यसप्रकारका भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष ढकालले जानकारी दिए ।
यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् । दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।
“लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल–कतार साझेदारीलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ । नेपाली उत्पादन चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता कृषि उत्पादनहरूलाई कतारको बजारमा पहुँच बढाउन ठूलो सम्भावना रहेको छ,” उनले भने ।
अध्यक्ष ढकालले यी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न प्रमाणिकरण, मानकीकरण तथा संयुक्त ब्रान्डिङ पहलमा सहकार्य गर्न प्रस्ताव गरे । भेटका अवसरमा चेम्बरका अध्यक्ष थानीसहित कतार चेम्बरका उच्च पदाधिकारी तथा व्यापारीहरू सहभागी थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने