बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
जलसरोकार
काठमाडौं : असाेज ८ गतेदेखि ११ गतेसम्म आएकाे अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोबाट उत्पादन, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षतिको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।
प्राधिकरणका अनुसार कुश्मा–दाना प्रसारण लाइनमा बाढीले क्षति पुर्याएपछि करिब १९० मेगावाट क्षमताका सातवटा जलविद्युत् केन्द्रको विद्युत् प्रसारण हुन सकेको छैन। प्रसारण लाइनको क्षति मर्मत गरी विद्युत् प्रवाह पुनःस्थापना गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा समेत क्षति पुगेको छ। टेलरेस फ्लोरमा क्षति पुगेकाले सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ। राहुघाट जलविद्युत् केन्द्रबाट ८० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्रणालीबाट बाहिर रहेका छवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट छ। सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध जलविद्युत् केन्द्रहरूको कुल क्षमता २६२ मेगावाट रहेको छ भने मस्र्याङ्दी करिडोरमा १९० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।
बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्रसमेत प्रभावित भएको छ। प्राधिकरणले क्षतिको अवस्था मूल्यांकन गरी क्रमशः आयोजनाहरू सञ्चालनमा ल्याउने जनाएको छ।
बाढीका कारण केही दिनदेखि विद्युत् अवरुद्ध भएका क्षेत्रमध्ये म्याग्दी, बागलुङ र तनहुँको झापाटार सबस्टेसन तथा रुकुम पूर्वमा विद्युत् आपूर्ति पुनःस्थापना भएको प्राधिकरणले जनाएको छ।
मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने तथा मनाङमा भोलिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने योजना प्राधिकरणले बनाएको छ।
भारतबाट विद्युत् आयात बढाउने तयारी
बाढीपहिरोका कारण आन्तरिक विद्युत् उत्पादन प्रभावित भए पनि माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात बढाउने तयारी प्राधिकरणले गरेको छ।
प्राधिकरणका अनुसार आन्तरिक उत्पादनबाट करिब एक हजार २७५ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ। माग–आपूर्ति सन्तुलन कायम गर्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १४० मेगावाट विद्युत् आयात गर्ने योजना छ।
बाढीपहिरोका कारण उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त उत्पादन, प्रसारण तथा वितरण संरचनाको अवस्था मूल्यांकन गरी मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग