बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला जलविद्युत्मा क्षति
जलसरोकार
सङ्खुवासभा : अविरल वर्षासँगै असार ८ गते आएको बाढी र पहिरोले मकालु गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजना, सडक तथा स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
मकालु गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइट क्षेत्रमा बाढी पसेर व्यापक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार बाढीले आयोजनाको निर्माण कार्यमा प्रयोग भइरहेका उपकरण तथा निर्माण सामग्री बगाएको छ।
निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडका म्यानेजर दीपक महतोका अनुसार बाढीले लोडर, मिक्सचर मेसिन, कङ्क्रिट पम्प मेसिन, ६० टन रड तथा ५०० बोरा सिमेन्ट बगाएको छ। यसले आयोजनाको निर्माण कार्यमा प्रत्यक्ष असर पुगेको छ।
त्यसैगरी, इसुवा हाइड्रोपावर आयोजनामा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ। सताङदेखि ड्यामसाइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। पहिरोले आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको जनाइएको छ।
प्राकृतिक विपत्तिका कारण स्थानीय बस्तीसमेत प्रभावित भएका छन्। मकालु गाउँपालिका–१ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाको घर पहिरोको उच्च जोखिममा परेका छन्। त्यस्तै, सिंहेश्वरी आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ।
बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ। साथै नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा तथा चार वटा काठेपुल पनि बाढीले बगाएको छ। पुलहरू बगाएपछि स्थानीयवासीको आवतजावतमा समस्या भएको छ।
यसबाहेक, पहिरोका कारण सयौँ रोपनी अलैँची खेती तथा अन्य खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ। बाढी र पहिरोबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य