बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
मध्यकालीगण्डकी आयोजनाको बाँध, सुरुङ र निर्माणस्थलमा क्षति, प्रसारण टावर बगाउँदा विद्युत् आपूर्ति अवरुद्ध
जलसरोकार
काठमाडौं : गत हप्ताको बाढीपहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोका कारण २६६ मेगावाट क्षमताका तीनवटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाट क्षमताका आठवटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन ।
बाढीले सबैभन्दा बढी क्षति हाइड्रो सपोर्ट प्रालिले प्रवर्द्धन गरिरहेको ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा पुर्याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा क्षति पुगेको छ । कालीगण्डकी नदीमा आएको बाढीले निर्माणस्थलका संरचनामा क्षति पुर्याउनुका साथै सडक सम्पर्कसमेत विच्छेद गरेपछि आयोजनाको निर्माण कार्य रोकिएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर पसेको कालीगण्डकीको बाढीले गेग्रान थुपारेको छ । सोही स्थानमा रहेको सुरुङको अडिटभित्रसमेत बाढी पसेको छ । अन्नपूर्ण–२ को नागढुङ्गा र रातोपानीमा रहेका आवास भवन भत्किएका छन् भने त्यहाँ राखिएका सामग्री बाढीले बगाएको छ ।
नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृह अगाडि रहेको बेनी–जोमसोम–कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्गसमेत बाढीले बगाएको छ । आयोजनाको श्रमिक शिविर पनि बाढीले बगाएको छ । क्याम्प र निर्माणस्थलसँगको यातायात सम्पर्क टुट्नुका साथै सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको आयोजनाका प्रबन्ध निर्देशक गुरु ढकालले जानकारी दिए ।
बाढीपहिरोबाट भएको क्षतिका कारण आयोजनाको निर्माण कार्य रोकिएको सिभिल ठेकेदार कम्पनी रसुवा–मल्टी जेभीले जनाएको छ । विसं २०८१ देखि निर्माण सुरु भएको आयोजना हालसम्म निर्धारित गतिमा अघि बढिरहेको थियो । तर, पछिल्लो विपद्ले निर्माणमा अवरोध सिर्जना गरेको छ ।
आयोजनाले सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङबाट पानी नौलीबगरस्थित भूमिगत विद्युत्गृहमा पुर्याउने योजना बनाएको छ । त्यहाँबाट १५१ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विद्युत्गृह, स्विचयार्ड र नियन्त्रण कक्ष जमिनमुनि निर्माण भइरहेका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मध्यकालीगण्डकी आयोजनाको अवधि बाढीपहिरोका कारण लम्बिने देखिएको छ । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना हो । आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ । लगानी संरचनाअनुसार नबिल बैंक लिमिटेडको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत प्रवर्द्धक तथा सेयर लगानीकर्ताबाट जुटाइनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिदबिक्री सम्झौताअनुसार आयोजनाको विद्युत् खरिददर हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा छ । आयोजनाबाट हिउँदमा १३० गिगावाट घण्टा विद्युत् उत्पादन गरी एक अर्ब नौ करोड रुपैयाँ तथा वर्षायाममा २७७ गिगावाट घण्टा उत्पादन गरी एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
यसपटकको बाढीपहिरोबाट अन्नपूर्ण गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । गाउँपालिकामा छ जनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार प्रसारण लाइनका टावर र तार बगाउँदा म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन राष्ट्रिय प्रणालीमा आपूर्ति हुन सकेको छैन ।
अन्नपूर्ण–१ दोवाको भीरकाटे पारिका दुईवटा र धिरच्याङको एउटा प्रसारण लाइन टावर बाढीले बगाएको छ । प्रसारण लाइनमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका आयोजनाहरू प्रभावित भएका छन् ।
अन्नपूर्ण–४ को भूगोलमा पर्ने नारच्याङ क्षेत्रमा रहेका पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । त्यस्तै, मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन ।
अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउनको अन्तिम सातादेखि नै उत्पादन बन्द छ । रेलेखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा माथिल्लो भेगबाट आएको बाढीले गेग्रान थुपारेको आयोजना प्रमुख दार्शनिक काफ्लेले बताए ।
बाढीपहिरोले सञ्चालनमा रहेका आयोजनाको विद्युत् उत्पादन र प्रसारणमा मात्रै नभई निर्माणाधीन आयोजनाको काममा समेत असर पुर्याएको छ । अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र नौ मेगावाटको सुपर घलेम्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य पनि प्रभावित बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा समेत कालीगण्डकीको बाढीले क्षति पुर्याएको छ । क्षतिका कारण आयोजनाको परीक्षण उत्पादन रोकिएको छ ।
जलविद्युत् आयोजनाका संरचना र प्रसारण लाइनमा भएको क्षतिसँगै कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकका विभिन्न स्थानमा कटान भएको छ । सडकमा भएको क्षतिले पैदलयात्रासमेत कठिन बनेको छ । यसले आयोजनाको निर्माण सामग्री ढुवानी, क्षतिग्रस्त संरचनाको निरीक्षण तथा मर्मत र विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने कामलाई थप चुनौतीपूर्ण बनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
-
आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत