बाढीले माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
जलसरोकार
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको लेदोसहितको बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
आइतबार आएको बाढी आयोजनास्थलमा पसेर विभिन्न भौतिक संरचना तथा उपकरणमा क्षति पुर्याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए । उनका अनुसार बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायतका संरचनामा असर पुर्याएको छ।
“आयोजनास्थल जोड्ने सडक पनि विभिन्न स्थानमा भत्किएको छ। ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ,” बेलवासेले भने “क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ।”
पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थलसम्म आवतजावत गर्नसमेत कठिनाइ भएको उनले बताए ।
घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीका अनुसार आयोजनास्थलमा निर्माण गरिएका सुरुङ तथा अस्थायी टहरामा पनि बाढी पसेको छ। प्रारम्भिक अनुमानअनुसार बाढीबाट रु एक करोडभन्दा बढीको क्षति भएको छ।
४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत रु १० अर्ब ५७ करोड लागतमा आयोजना निर्माण भइरहेको छ।
यसैबीच, किम्रुङ खोलामा आएको बाढीले स्थानीय झोलुङ्गे पुलसमेत बगाएको छ। किम्रुङ खोला हुँदै मोदी खोलामा मिसिएको बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउली बजारमा एक घर, एक रेष्टुराँ तथा घान्द्रुक जोड्ने सडकमा समेत क्षति पुगेको जनाइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध